उपसभामुखमा राजपा किन रोज्दैछ त नेकपा ?

पत्रपत्रिकाबाट

सोमबार, १३ माघ २०७६, ०६ : ५६
उपसभामुखमा राजपा किन रोज्दैछ त नेकपा ?

काठमाडौँ । सभामुख पदमा नेकपाका अग्नि सापकोटाको घोषणा हुनु पहिले संसदको रोष्ट्रममा उभिएर प्रतिपक्षी दलका सांसद मीनेन्द्र रिजालले 'कमण्डलु बोकेर उपसभामुख माग्न जाँदैनौं' भन्ने घोषणा गरे । उनले सभामुख र उपसभामुख संवैधानिक व्यवस्थाअनुसार फरक-फरक दलको हुनुपर्ने मान्यतामा कांग्रेस रहेको बताए ।

सभामुखमा सापकोटाविरुद्ध उपसभामुख पाउनका लागि कांग्रेसले उम्मेदवारी नदिएको भन्ने सार्वजनिक अड्कल गलत भएको बताएका रिजालले 'बुहमत रहेको नेकपाले सभामुख प्राप्त गरेपछि संसदीय मूल्य मान्यताको मर्म र भाव बुझ्ला कि नबुझ्ला ? बुझेर पनि बुझ पचाउला ?' लगायतका आंशका व्यक्त गरे। प्रमुख प्रतिपक्षी कांग्रेस भएकाले उपसभामुख कांग्रेसलाई दिनुपर्ने संकेत उनको सम्बोधनमा थियो। रिजालको सम्बोधनपछि सापकोटा निर्विरोध सभामुख निर्वाचित भएको घोषणा भयो।

प्रतिनिधिसभाको आइतबारको बैठकले सभामुख निर्वाचित गरेपछि राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले खुसी मूडमा दिएको प्रतिक्रिया उपसभामुखबारे थियो। राजपाले उपसभामुखमा दाबी गरेको हो ? भन्ने प्रश्नमा उनले हाँस्दै जवाफ दिए, 'यो पनि दाबी गर्ने विषय हो र ?'

नाउँदै उनले उपसभामुखबारे थप प्रतिक्रिया दिए, 'नेकपाको बहुमत छ। उहाँहरूले कसलाई दिनुहुन्छ, कुन दललाई प्रस्ताव गर्नुहुन्छ सभामुख उसले नै पाउने हो।' पछिल्लो समय मुख्यगरी प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग सम्बन्ध सुमधुर बनाएका राजपाका नेताहरूले उपसभामुख आफ्नै भागमा पर्ने विश्वास गरेका छन्।

राष्ट्रियसभाका लागि नेकपा र राजपाबीच भएको दुई बुँदे सहमतिको दोस्रो बुँदामा दीर्घकालीन सहकार्य गर्ने उल्लेख थियो। सोही बुँदालाई लिएर राजपाले उपसभामुख पाउने र ओली नेतृत्वको सरकारमा सहभागी हुने अड्कल काट्न थालिएको छ। भलै यी अड्कललाई राजपाका नेताहरूले अस्वीकार गर्दै आइरहेका छन्।

नेकपाको पहिलो रोजाइ राजपा, दोस्रोमा कांग्रेस

सत्तारुढ नेकपा त्यसमा पनि प्रधानमन्त्री ओलीले उपसभामुख आफू अनुकूल व्यक्तिलाई ल्याउन चाहेका छन्। संवैधानिक परिषदमा उपसभामुख सदस्य रहने भएकाले ओलीले उपसभामुख सहज व्यक्ति होस् भन्ने चाहेका छन्। संवैधानिक आयोगहरूमा नियुक्ति, राजदूतलगायत नियुक्तिमा ठूलो भाग नखोज्ने र प्रतिपक्षी कांग्रेसलाई सहयोग नगर्ने दलबाट उपसभामुख होस् भन्ने उनको चाहना छ।कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस