सभामुख चयनमा प्रधानमन्त्रीको ‘दोहोरो स्टान्ड’

उपसभामुखलाई उचालेर पूर्व माओवादीलाई सभामुख दिँदै नदिने रणनीतिमा प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

मंगलबार, २९ पुस २०७६, १० : २८
सभामुख चयनमा प्रधानमन्त्रीको ‘दोहोरो स्टान्ड’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले यतिबेला सभामुख चयनमा ‘दोहोरो स्टान्ड’ देखाएका छन् । पार्टी एकतापूर्वको सहमति भत्काउँदै सभामुख आफ्ना मान्छे ल्याउन उनले दोहोरो रणनीति अख्तियार गरेको देखिएको छ ।

उपसभामुख शिवमाया तुम्वाहाम्फेको राजीनामाका विषयमा उनले अदृश्य रुपमा दिएको ढाढसले यो कुराको पुष्टि भएको छ ।

वागमति प्रदेशका ८० मध्ये ६२ सांसद हेटौडा राजधानीको विपक्षमा रहेको, प्रदेशका पार्टी इन्चार्ज अष्टलक्ष्मी शाक्यले समेत पार्टी निर्णय मान्दिन भनेर नेतृत्वलाई चुनौति दिँदासम्म पार्टी निर्णय कार्यान्वयनमा बाध्य पारिएको नेकपाभित्र उपसभामुख तुम्वाहाम्फेको अडानभित्र प्रधानमन्त्री ओलीको ढाढसले काम गरेको नेकपा नेताहरु नै बताउँछन् ।

‘सभामुख जसरी पनि पूर्व एमालेका नेताहरु, त्यसमा पनि आफ्नो गुटबाटै बनाउनका लागि प्रधानमन्त्रीले दोहोरो चालबाजी गरिरहेका छन्,’ नेकपाका एक स्थायी समिति सदस्यले सफलखबरसँग भने,–‘उपसभामुखको यो अडानभित्र ओलीको अदृश्य साथ र समर्थन देखिन्छ ।’

पूर्व सहमति अनुसार सभामुख तत्कालिन माओवादी पक्षका नेताहरुले पाउनु पर्ने हो । तर ओलीले अहिले आफ्नो निकट व्यक्तिलाई सभामुख बनाउनका लागि संसद बरु महिनौं बन्धक होस्, सभामुख नछोडने गरी योजना बनाइरहेका छन् ।

पूर्व माओवादी धारबाट सभामुखमा अग्नि सापकोटा, पम्फा भुषाल, देव गुरुङ लगायतको नाम चर्चामा छ । तर ओली पहिलो विकल्पमा सुवास नेम्वाङ र उनी नहुँदा अहिलेकै उपसभामुख रहेकी शिवमाया तुम्वाहाम्फेलाई सभामुख वनाउन चाहिरहेका छन् । यी दुवै प्रधानमन्त्री ओलीका आफ्नै गुटका  नेता हुन् ।

पार्टी निर्णय नमान्ने उपसभामुख तुम्वाहाम्फेको अडानमा प्रधानमन्त्री ओलीले देखाएको रहस्यमय मौनताभित्र उनले उपसभामुखलाई भित्री रुपमा राजीनामा नदिन गरेको निर्देशन प्रमुख कारण रहेको बालुवाटार निकट स्रोतले नै बताएका छन् ।

वुधबार माधव नेपालको पहलमा वामदेव गौतम निवासमा बसेको ओली इतर नेताहरुको बैठकपछि चिढिएका ओली झन् कडा रुपमा प्रस्तुत हुन खोजेका छन् । तर यो पटक उनले मौनता साधेर यस विषयमा पार्टी निर्णय कार्यान्वयनमा असहयोगीको भूमिका निर्वाह गरिरहेका छन् ।

गत शुक्रबार दबै अध्यक्षले उपसभामुख तुम्वाहाम्फेलाई बालुवाटारमा बोलाएर छलफल गर्दा नै ओलीले दोहोरो रणनीति अख्तियार गरिदिएका थिए ।

उनले पहिले सभामुख चयन गरेपछि राजीनामा दिएपनि हुन्छ, हामी छलफल गरिरहेका छौं भन्दै राजीनामाका लागि तत्काल नहतारिन अप्रत्यक्ष रुपमा आग्रह गरेका थिए ।

तर प्रचण्डले भने उनलाई राजीनामा दिनका लागि आगह गरेका थिए । तुम्वाहाम्फेले दुई अध्यक्षको मनोविज्ञान बुझेर राजीनामा नदिने अडान राखेर बालुवाटारबाट निस्केकी थिइन् ।

भोलिपल्ट प्रधानमन्त्री ओलीले सचिवालय बैठक राख्न आग्रह गरेको र आफू सहभागी नभइ दिएर पनि प्रचण्डलाई अप्ठायारो पार्ने रणनीति उनले अख्तियार गरेका छन् । आफू सहभागी नभएको बैठक जसको अध्यक्षतामा बसेको छ, उसैले कार्यान्वयनमा लैजानुपर्छ हेरौं न उहाँहरुले कसरी गर्नुहुन्छ भन्दै अहिले ओली गत शनिबारको पार्टी सचिवालयले उपसभामुखलाई राजीनामा दिन गरेको आग्रह कार्यान्वयनको दायित्वबाट पन्छि दिएका छन् ।

आइतबार दुवै अध्यक्ष, महासचिव र इश्वर पोखरेलसहितको छलफलमा उपसभामुखले राजीनामा सभामुख चयन नभएसम्म नदिने अडान फेरि दोहो¥याउँदा पनि ओली चुपचाप बसिदिए ।

यसले पनि देखाउँछ ओली भित्रभित्र तुम्वाहाम्फेलाई राजीनामा नदिन उकासिरहेका छन् ।

पहिले सभामुख चयन गर्नुपर्ने, त्यसमा आफनो नाम नभए हटाउनको कारण खुलाउनु पर्ने शर्त शिवमायाको मुखबाट राख्न लगाई उनले पूर्व एमालेभित्रबाट पनि आफ्नो समुहका नेतालाई मात्रै सभामुख बनाई छोड्ने रणनीति ओलीको देखिन्छ ।

सकभर सभामुखमा नेम्वाङ या तुम्वाहाम्फेको नाममा सहमति जुटाउने त्यसबाहेकको नाम आए तुम्वाहाम्फेलाई राजीनामा दिन रोकेर पूर्व माओवादी धारका नेतालाई जसरी पनि सभामुखमा रोक्ने रणनीतिमा ओली लागेको पूर्व एमाले धारका एक स्थायी समिति सदस्य बताउँछन् ।

ओलीले आफ्नो पक्षकै नेताको खोजी गर्नुभित्र सरकार, पार्टी, संसद सबैतिर आफ्नो पकड जमाउने र सम्वैधानिक निकायहरुमा एक्लौटी गरी आफू अधिनस्थ संरचनाहरु निर्माण गर्ने ओलीको मक्सद देखिन्छ । सम्वैधानिक परिषदमा पूर्व माओवादीविहिन बनाएर त्यहाँको सूचनाबाट प्रचण्डलाई निषेध गर्ने, आफ्नो एक्लौटी चलाउने र विवादास्पद एमसिसि सजिल्यै संसदमा लगेर पास गराउने रणनीतिमा ओली छन् । 

प्रतिक्रिया दिनुहोस