पदक विजेता एथ्लेटिक्स खेलाडी सम्मानित

सफल खबर संवाददाता

शुक्रबार, १४ कार्तिक २०८२, १९ : ०२
पदक विजेता एथ्लेटिक्स खेलाडी सम्मानित

काठमाडौं । भारतमा सम्पन्न चौथो दक्षिण एशियाली सिनियर एथ्लेटिक्स च्याम्पियनसिपमा पदक विजेता नेपाली खेलाडीलाई सम्मानित भएका छन् ।

नेपाल एथ्लेटिक्स संघले शुक्रवार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेको हो । भारतको झारखण्डमा गत कात्तिक ८ गते सम्पन्न च्याम्पियनसिपमा नेपाल दुई रजत र चार कांस्य पदकसहित तेस्रो भएको थियो । सोही सफलता दिलाउने खेलाडी सम्मानित भएका हुन् ।

संघले रजत पदक विजेताई २५ हजार र कांस्य पदक विजेतालाई १५ हजार नगद रुपैयाँसहित सम्मान गरेको छ । संघ महासचिव सञ्जीव तुलाधार र सचिव आरके विष्टलगायतले खेलाडीलाई सम्मान गरे ।

संघले खेलाडीले दिलाएको यो सफलतामा सम्मान रकम सानो भए पनि उनीहरूलाई प्रोत्साहन गर्न यस किसिमको कार्यक्रम आयोजना गरिएको उल्लेख गरेको छ ।

च्याम्पियनसिपमा गत आइतबार सोमबहादुर कुमाल र राजन रोकायाले रजत पदक जितेका हुन् । सोमबहादुरले पुरुष आठ सय मिटर र राजनले १० हजार मिटर दौडमा नेपाललाई रजत पदक दिलाएका थिए । सन्तोषी श्रेष्ठले दुई कांस्य पदक जितेकी थिइन् ।

उनले १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित कांस्य पदक जितेकी हुन् । सन्तोषीले महिला पाँच हजार मिटर दौडमा पनि राष्ट्रिय कीर्तिमानसहित कांस्य पदक जितेकी थिइन् ।

सन्तोषीले यस विधामा कान्छिमाया कोजुको नाममा रहेको १५ वर्ष पुरानो राष्ट्रिय कीर्तिमानसमेत तोडेकी थिइन् । मुकेश पालले पाँच हजार मिटरमा र नेपाली टोलीले चार गुणा चार सय मिटर मिक्स रिलेमा पदक जितेको थियो । चार गुणा चार सय मिटर मिक्स रिलेमा नेपालको यो पहिलो अन्तर्राष्ट्रिय पदक पनि हो । सोमबहादुरसहित रामप्रसाद थारु, जयरानी थारु र रमिताकुमारी थारुले उक्त सफलता दिलाएका हुन् । संघले उक्त कार्यक्रममा आगामी जनवरीसम्म ४८ जना प्रशिक्षकका लागि लेभल वान कोर्ष आयोजना गर्ने जानकारी दिएको छ । संघका उपाध्यक्ष तथा सशस्त्रका पूर्वआइजिपी शैलेन्द्र खनाल र नेपाल आर्मीका अवकाश प्राप्त रथि सन्तोषकुमार ढकाललाई क्रमशः अनुशासन आयोग र प्राविधिक निर्देशकको जिम्मेवारी दिइएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस