दुर्घटना गरेर किन भाग्छन् सवारी चालक ?

पत्रपत्रिकाबाट

आइतबार, १३ पुस २०७६, ०७ : ०१
दुर्घटना गरेर किन भाग्छन् सवारी चालक ?

file photo

काठमाडौं । मंसिर ७ गते मर्निङ वाकमा निस्किएका सिभिल हस्पिटलका वरिष्ठ चिकित्सक प्रभु जोशीलाई काठमाडौं बानेश्वर क्षेत्रमा बसले ठक्कर दियो। झिसमिसेमै उनलाई ठक्कर दिएर बस भाग्यो। ठक्कर दिएर भागेको बस खोज्न उज्यालो भएपछि आफन्तले महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी दिए। प्रहरीले जोशीलाई ठक्कर दिएर बेपत्ता भएका भक्तपुर सूर्यविनायकका चालक बुद्धिकुमार कोजूलाई तीन दिनपछि रामेछापबाट बा३ख ६१४ नम्बरको बससहित नियन्त्रणमा लियो।

–कात्तिक १२ गते काठमाडौंकै तीनकुनेमा जेब्राक्रसबाट सडक पार गरिरहेका कोटेश्वरका सुजन केसीलाई ट्रकले ठक्कर दियो। ठक्कर दिएर गम्भीर घाइते भएका उनको केएमसी हस्पिटल सिनामंगलमा लैजाँदै गर्दा मृत्यु भयो। एकाबिहानै बाटो काट्दै गर्दा उनलाई ठक्कर दिएको सवारीसाधन भने बेपत्ता भयो। प्रहरीले हालसम्म केसीलाई ठक्कर दिएको उक्त सवारीसाधन पत्ता लगाउन सकेको छैन।

–यही पुस ८ गते बिहान ५ः४५ बजे गुर्जुधारा चोकमा ट्रकले चन्द्रागिरिका अर्जुनबहादुर केसीलाई ठक्कर दियो। ठक्करबाट प्रदेश ३–०२–००९प ७६२९ नम्बरको मोटरसाइकल चालक केसीको घटनास्थलमै ज्यान गयो। उनी बिहान छोरालाई कलंकीस्थित एलआरआई स्कुलमा पु¥याउन जाँदै थिए। उनलाई ठक्कर दिने सवारीसाधन पनि बेपत्ता भयोे। ठक्कर दिएर भागेको ना८ख ३४२४ नम्बरको ट्रक दुई दिनपछि ललितपुरको चापागाउँमा फेला प¥यो। प्रहरीले चालक रविन पौडेल र ट्रकलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ।काठमाडौं उपत्यकाका सडकमा बटुवा अथवा अर्को सवारी साधनलाई ठक्कर दिएर कारबाहीबाट बच्न भाग्ने सवारीचालकका केही दृष्टान्त हुन् यी। दैनिक सरदर एकजनाले सवारी दुर्घटनामा ज्यान गुमाउने उपत्यकामा सबैभन्दा असुरक्षित पैदलयात्रु छन्। तीव्र गतिका सवारीसाधनले बटुवालाई जेब्राक्रसमै ठक्कर दिने क्रम बढेको छ। यही पुस ७ गते सुकेधारा बस्ने २१ वर्षीया सृष्टि पन्तलाई बिहान कलेज जाने क्रममा चाबहिलमा बसले ठक्कर दिँदा उनको मृत्यु भयो। भक्तपुर कमलविनायकबाट नयाँ बसपार्क चल्ने बा४ख ५९२० नम्बरको बसले उनलाई ठक्कर दिएको थियो। पन्त पशुपति कलेजमा बिबिएस चौथो वर्षमा अध्ययनरत थिइन्।

पुस ५ गते बुढानीलकण्ठ स्कुलनजिकैे बा१४च ६१२३ नम्बरको सुजुकी कारले ठक्कर दिँंदा पैदलयात्री लीला देवकोटाको ज्यान गयो। चालक पृथ्वी मल्लले मदिरा सेवन गरेर तीव्र गतिमा कार चलाएका कारण देवकोटाको ज्यान गएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार सवारी दुर्घटनामा सबैभन्दा जोखिममा पैदलयात्रु छन्। आर्थिक वर्ष ०७५÷७६ मा काठमाडौं उपत्यकामा भएका सवारी दुर्घटनामा दुई सय ५४ जनाको ज्यान गएको तथ्यांक छ। सवारीसाधनको ठक्करबाट ज्यान गुमाएका दुई सय ५४ मध्ये ९३ जना पैदलयात्री थिए। प्रहरीका अनुसार गत साउन यतामात्रै देशभर सडक दुर्घटनामा एक हजार ३० जनाको ज्यान गएको छ।

सबै सडकमा सिसी क्यामेरा नभएकाले ठक्कर दिएर बेपत्ता हुने चालक र सवारीसाधनलाई नियन्त्रणमा लिन समस्या भएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी घनश्याम श्रेष्ठ बताउँछन्। अँध्यारोमा हुने सडक दुर्घटनामा यस्तो समस्या हुने गरेको उनको भनाइ छ। उनका अनुसार सवारी दुर्घटनाको कारण एउटा मात्रै छैन। सडक र सवारीसाधनको अवस्था ठीक नहुनु, चालकले लेन मिच्नु, गति तीव्र हुनु, मापसे सेवन गरेर सवारी हाँक्नुजस्ता कारणले दृर्घटना भएका छन्। पैदलयात्रीले पनि जथाभाबी बाटो काट्दा सवारी दुर्घटना हुने गरेको छ। ‘घरमा छँदा कसैलाई हतार हुँदैन जब सडकमा निस्कछन् सबैलाई युद्धमै जान लागेजसरी हतार हुन्छ,’ उनले भने, ‘चालक र यात्रुले धैर्य गुमाउँदा पनि सवारी दुर्घटना बढेका छन्।’

मिलापत्र गर्दा चालकलाई छुट
सवारी दुर्घटनाका अधिकांश मुद्दा मिलापत्रमा टुंगिने गरेका छन्। कानुनमा कडा सजाय तोकिए पनि पीडित पक्ष मिलापत्र गर्न मन्जुर भएपछि चालकले छुट पाउने गरेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दुर्घटनाका ९० प्रतिशत मुद्दा मिलापत्रमै टुंगिएका छन्। बाँकी १० प्रतिशत चालकमात्र कारबाहीको दायरामा आउने गरेको ट्राफिक प्रहरी बताउँछन्।

पैसाको लोभमा पीडितले मिलापत्र गर्दा दुर्घटना गराउने चालक कानुनी कारबाहीबाट उम्किने गरेका छन्। ‘मैले लामो समय ट्राफिक दुर्घटनाको क्षेत्रमा काम गर्दा अधिकांश दुर्घटना मिलापत्रमै टुंगिएको पाएँ, चालकलाई धेरै सजाय भनेको दुई वर्षसम्म भएको थाहा छ,’ पूर्वट्राफिक प्रहरी सीताराम हाछेंथुले भने, ‘हामीले कडा कारबाही गर्ने भनेर अघि सारेका मुद्दा पनि अदालतमा पुगेपछि मिलपत्रलगायत नाममा हल्का भए। जसका कारण चालक कानुनी कारबाहीबाट जोगिए।’ पीडित पक्ष मिलापत्रमा जाँदा चालकमा लापरबाही गर्ने प्रवृत्ति बढेको उनको बुझाइ छ।

जन्मकैद सजाय भोग्नुपर्ने चालक सहजै उम्कन्छन्

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सवारीसाधनले ठक्कर दिएर ज्यान लिने चालकलाई कडा कानुनको व्यवस्था छ। तर, हालसम्म चालकमाथि कानुन अनुसार सजायको अभ्यास भएको छैन। ऐनको परिच्छेद नम्बर १० मा रहेको सजायसम्बन्धी व्यवस्था अनुसार सडकमा किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराएर बटुवा र अन्यको ज्यान लिएमा चालकलाई जन्मकैद सजाय हुने व्यवस्था छ। तर, हालसम्म कुनै पनि चालकलाई जन्मकैद नभएको पूर्वट्राफिक प्रहरी हाछेंथुले जानकारी दिए। नागरिक दैनिकमा खबर छ ।