काठमाडौं । जनता बैंकसँग एकीकृत कारोबार सुरु गरेपछि ग्लोबल आइएमई मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ। यसको निक्षेप दुई खर्ब १३ अर्ब रुपैयाँभन्दा धेरै र पुँजी २४ अर्ब रुपैयाँ पुगेको छ। अन्य कुनै पनि वाणिज्य बैंकसँग यति ठूलो निक्षेप र पुँजी छैन।
जनतासँग शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेपछि ग्लोबल आइएमई पुँजी, निक्षेप, कर्जा परिचालन, शाखा र ग्राहकका हिसाबले सबैभन्दा ठूलो बैंक भएको हो। नेपाल राष्ट्र बैंकको मर्जर नीति अनुसार यी दुई बैंकले मर्ज भई ग्लोबल आइएई नामबाट एकीकृत कारोबार सुरु गरेका छन्। चालु आव ०७६/७७ को बजेटबाट सरकारले वाणिज्य बैंकलाई मर्जरमा जान प्रोत्साहित गरेपछि यी दुई वाणिज्य बैंक मर्ज भएका हुन्। ग्लोबलले अहिलेसम्म तीनवटा वाणिज्य बैंक, १० वटा विकास बैंक र पाँचवटा फाइनान्स कम्पनी मर्ज तथा प्राप्ति गरेको छ।
बैंक मर्ज भएर ठूलो हुँदा सेयर धनी, निक्षेपकर्ता, नियमनकारी निकाय र समग्र मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने बैंकर बताउँछन्। ठूलो बैंक हुँदा लगानीकर्ता, बचतकर्ता र नियमनकारी निकायलाई फाइदा पुगेको पूर्वबैंकर शशिन जोशी बताउँछन्। अब ग्लोबल लगानीकर्ताका लागि पहिलाभन्दा धेरै मुनाफा दिन सक्षम हुने जोशीको धारणा छ। ‘बैंकको ठूलो जोखिम व्यवस्थापन गर्ने क्षमता बढ्छ,’ उनले भने, ‘यसले प्रतिफल बढाउँछ।’ धेरै बैंकलाई नियमन गर्नभन्दा मजबुत बैंकको नियमन गर्न राष्ट्र बैंकलाई पनि सहज हुने उनले बताए। बैंक मर्ज हुँदा प्रशासनिक खर्च कम हुने र पुँजी ठूलो हुँदा लगानीको दायरा फराकिलो पार्न सहज हुन्छ। अहिलेसम्म ठूला परियोजनामा धेरै बैंक मिलेर लगानी गर्नुपर्ने अवस्था थियो। पुँजी धेरै भएपछि ठूला परियोजनामा एउटा बैंक पनि लगानी गर्न सक्षम हुन्छ। मर्जरले बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा पनि घट्ने विश्वास गरिएको छ।
नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले धेरै बैंकको सट्टा थोरै हुँदा अस्वस्थ प्रतिस्पर्धा घट्ने बताए। ‘अहिले बैंक तथा वित्तीय संस्थाको संख्या धेरै छ,’ ढुंगानाले भने, ‘१८ वटा संस्था मर्ज भएर एउटा हुनु सुखद पक्ष हो।
दुई वाणिज्य बैंक मर्ज भएसँगै ग्लोबल आइएमई बैंकको प्राथमिक पुँजी २४ अर्ब (चुक्ता पुँजी र सञ्चित कोष) , निक्षेप दुई सय १३ अर्ब, कर्जा लगानी एक सय ९४ अर्ब रुपैयाँ पुगेको छ। बैंकका शाखा तथा सेवा केन्द्र आठ सय ४० पुगेको छ। एटिएम सेवा दुई सय ५९ शाखामा पुगेको छ। ग्राहक संख्या पनि २० लाख बढी पुगेको छ। मुलुकमा २८ वटा वाणिज्य बैंक थिए। ग्लोबल र जनता मर्जसँगै वाणिज्य बैंकको संख्या २७ मा झरेको छ।
मर्जर हुँदा प्रतिस्पर्धी बजारमा समय अनुकूल छिटोछरितो सेवा दिन पनि बैंक सक्षम हुने सञ्चालक बताउँछन्। एकीकृत कारोबारले ग्लोबल थप गुणस्तरीय र भरपर्दो सेवा दिन सक्षम भएको अध्यक्ष चन्द्र ढकालले बताए। ‘मर्जरबाट मुुलुककै ठूलो बैंक भएपछि उत्साह थपिएको छ,’ उनले भने, ‘यसले मुलुकको आर्थिक समृद्धिमा पनि टेवा पु-याउँछ।’ मर्जरपछि प्रतिस्पर्धात्मक क्षमताको विकास भएको उनले बताए। ‘सरकारको नीतिलाई सघाउन मर्जरमा गएका हौं’ ढकालले भने, ‘भरपर्दो बैंकिङ सेवाका लागि सक्षम, कुशल, सुरक्षित र सुशासित बैंक निर्माण गरेका छौं।’ नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २१ मंसिर २०७६, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकहरुको निर्णय : आजदेखि मुद्दती निक्षेपको ब्याजदर झन् घट्यो
बैंकहरूको नाफा १.४ प्रतिशत मात्रै बढ्यो, कसको कति ?
बैंकहरूको नाफा ४.६ प्रतिशत घट्यो, कसले कमाए कति ?
सहकारी संस्थाले बैंकबाट ऋण लिन पाउने
बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा आन्दोलन
११ वटा बैंकले गरे ब्याजदर समायोजन