सातै प्रदेशमा सन्देश सभा आयोजना गर्दै नेकपा

सफल खबर संवाददाता

आइतबार, ३० कार्तिक २०८२, १८ : ४०
सातै प्रदेशमा सन्देश सभा आयोजना गर्दै नेकपा

काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने भएको छ ।

पेरिसडाँडामा बसेको विभिन्न घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका पूर्वपदाधिकारीहरूको बैठकले सातै प्रदेशमा सन्देश सभा गर्ने आयोजना भएको हो ।

पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्न लागिएको बताएका छन् । यद्यपि कुन प्रदेशमा कहिले सभा गर्ने भन्नेबारे निर्णय लिन बाँकी रहेको उनले बताए ।

भोलि (सोमबार) बेलुकीसम्ममा कहाँ कहिले सभा गर्ने भन्नेबारे निर्णय लिइने उनले बताए ।

‘सातै प्रदेशमा सन्देश सभा गर्नका लागि हामी सबै पार्टीका नेताहरू समेत बसेर छलफल भएको छ । कहाँ कहाँ कहिले कहिले गर्ने भन्ने केही सुझाव आएका छन्,’ उनले भने, ‘९ गतेदेखि २०र२१ गतेसम्म प्रदेश, महत्त्वपूर्ण स्थान, जिल्लामा सन्देश सभाहरू गर्छौँ । आज त्यही विषयमा छलफल भएको हो ।’

त्यस्तै, अर्का नेपा बामदेव गौतमले पनि पार्टी एकताको सन्देश देशैभर पुर्‍याउने गरी सभा गर्न लागिएको जानकारी दिए ।

‘हामीले यो सन्देश दिन्छौँ, कि नेपालमा हामीले समाजवाद निर्माण गर्छौँ । नेपालको संविधानले परिकल्पना र निर्देशन गरेको समाजवाद हामीले निर्माण गरेर देशका जति पनि समस्या छन् त्यसको समाधान हामीले गर्छौँ,’ गौतमले भने ।

बैठकपछि अर्का नेता झलनाथ खनालले पनि समाजवादको बाटोमा अर्जुनदृष्टि बनाएर अघि बढ्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस