जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?

सफल खबर संवाददाता

शुक्रबार, ०१ जेठ २०८३, ०९ : ०३
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?

काठमाडौं । कांग्रेस नेता कृष्णप्रसाद यादव नेतृत्वको मधेस प्रदेश सरकारको भविष्य आज निर्णायक मोडमा पुगेको छ । सरकारको एक प्रमुख साझेदार दल जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले शुक्रबार (आज) प्रदेशसभामा विश्वासको मत सामना गर्दैछन्।

यो केवल नियमित संसदीय प्रक्रिया मात्र होइन, मधेस प्रदेशको बदलिँदो शक्ति–सन्तुलन, गठबन्धन राजनीति र दलभित्रको आन्तरिक संघर्षको समेत परीक्षण हो। विशेषतः जनमत पार्टीभित्र देखिएको आन्तरिक शक्ति संघर्षले सरकारलाई अस्थिरताको संघारमा पुर्‍याएको छ। त्यसैले आजको विश्वासको मतलाई मधेसको सत्ता समीकरणको ‘लिटमस टेस्ट’ का रूपमा पनि हेरिएको छ।

वैशाख २८ गते जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विश्वासको मत लिने निर्णय गर्दै प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो। त्यसअनुसार आज प्रदेशसभामा मुख्यमन्त्री यादवले आफ्नो बहुमत प्रमाणित गर्ने प्रयास गर्दैछन्।

संवैधानिक रूपमा पनि उनी दबाबमा थिए। किनकि जनमत पार्टीका संसदीय दलका नेता चन्दनकुमार सिंहले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संविधानअनुसार मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था बनेको थियो।

मधेस प्रदेश सरकार गठन हुँदा यादवलाई पाँच दलको समर्थन थियो। तर अहिले गठबन्धनको एक खम्बा बाहिरिएपछि सरकारको स्थायित्वमाथि प्रश्न उठेको हो। यद्यपि अंकगणित हेर्दा मुख्यमन्त्री यादव तत्काल अप्ठ्यारोमा देखिँदैनन्। कांग्रेस, एमाले, नेकपा, जसपाका मधेस प्रदेशका दल नेताहरुले गठबन्धन टिकाईराख्ने सम्झौता यसबीचमा गरेका छन् ।

मधेस प्रदेशसभामा नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १७, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का १५ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ८ सांसद छन् । यी चार दलबीचको गठबन्धन कायम रहे मुख्यमन्त्री यादवको पक्षमा ६२ मत पुग्ने देखिन्छ, जुन विश्वासको मतका लागि पर्याप्त हो।

तर मधेसको राजनीति केवल अंकगणितमा सीमित छैन। यहाँ दलहरूको अन्तिम निर्णय, आन्तरिक असन्तुष्टि, शक्ति सन्तुलन र भविष्यको राजनीतिक लाभ–हानिको हिसाबले पनि परिणाम प्रभावित हुने गरेको छ। त्यसैले अहिले मुख्य चासो केवल मत पुग्छ कि पुग्दैन भन्ने होइन, गठबन्धनभित्रको विश्वास कति बलियो छ भन्नेमा केन्द्रित छ।

विशेषगरी मधेस केन्द्रित दलहरू जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको भूमिकालाई अर्थपूर्ण रूपमा हेरिएको छ। किनकि उनीहरूको समर्थनले मात्र यादव सरकारलाई स्थायित्वको सन्देश दिनेछ। अन्यथा आजको विश्वासको मत जिते पनि सरकार दीर्घकालीन रूपमा अस्थिर बन्न सक्ने संकेत देखिन्छ।

मधेस प्रदेशमा पछिल्ला वर्षहरूमा सरकार परिवर्तन, गठबन्धन फेरबदल र दलहरूको ध्रुवीकरण बारम्बार दोहोरिएको छ। त्यसैले आजको मतदान केवल एउटा सरकार जोगाउने अभ्यास मात्र होइन, मधेसको राजनीतिमा को कति प्रभावशाली छ भन्ने शक्ति परीक्षण पनि हो।

प्रतिक्रिया दिनुहोस