जनकपुर । मधेसमा आठ जिल्ला छन्, प्रतिनिधिसभाका ३२ निर्वाचन क्षेत्र । जनसंख्याका हिसावले २९ प्रतिशत जनसंख्या रहेको भूगोल । बागमती प्रदेशपछि संघीय संसदमा बढी प्रतिनिधित्व हुने प्रदेश । राजनीतिक दलहरुको अहिले केन्द्रविन्दु बन्न पुगेको छ ।
जनमतका हिसावले गत प्रतिनिधिसभा चुनाव देखि अन्य हिसावले समेत प्रभाव जमाउन नसकेको रास्वपाले त चुनावपछिका प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहलाई मधेसको छोराकै रुपमा प्रचार गरेर चुनावी अभियान मधेसबाटै थालेको छ ।
यस हिसावले पनि दलहरु मधेसलाई प्राथमिकतामा राखेर अगाडी बढ्न चाहिरहेका छन् । निर्वाचन आयोगमा दर्ता भएका मुख्य आठ राजनीतिक दलका अध्यक्ष नै यसपटक मधेस प्रदेशबाट चुनावको उम्मेदवार बनेका छन् ।
कांग्रेस सभापति गगन थापा सर्लाही ४ मा उम्मेदवार बन्न आईपुगेका छन् । गगनले आफ्नो राजनीतिक आधार क्षेत्रका रूपमा विकास गरेको काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका हुन् ।
त्यहाँ उनको सामना २०७४ को चुनावमा बाम गठबन्धन हुँदा पनि कांग्रेसबाट चुनाव जितेका र २०७९ को चुनावमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर जितेका अमरेशकुमार सिंहसँग हुनेछ, जसले यसपालि रास्वपा प्रवेश गरेर त्यही क्षेत्रमा उम्मेदवारी दिएका छन्।
कोर काठमाडौंको मान्छे कोर मधेसमा चुनाव लड्ने भन्दै प्रमुख राजनीतिक दलका सभापति रहेका गगन मधेस झरेका हुन् । यसले पनि मधेसलाई राजनीतिक दलहरुले कति प्राथमिकता दिन चाहेका छन् भन्ने सन्देश दिएको छ ।
अबको चुनावपछि पहिलो दल बन्ने उदघोष गरिरहेको रास्वपाले मधेसबाटै चुनावी अभियान सुरु गरेको छ । मधेसको छोरा पहिलो पटक प्रधानमन्त्री बन्न लागेको भन्दै बालेन शाहलाई उतारेर रास्वपाले मधेसबाट चुनावी अभियान थालेको हो ।
यसका अतिरिक्त मधेसमै क्षेत्रीय राजनीति गरिरहेका दलका अध्यक्ष हरु पनि मधेसको भूमिबाटै चुनावी प्रतिस्पर्धामा छन् । साना दुई दलका अध्यक्ष बाहेक अन्य सवै अध्यक्षहरु एक अर्कासँग भने प्रतिस्पर्धामा छैनन । २०७९ को चुनावमा उपेन्द्र यादव र सिके राउत एकै निर्वाचन क्षेत्रमा चुनाव भिँडेका थिए । तर यसपटक उनीहरुले एक अर्कासँग प्रतिस्पर्धा गर्ने हिक्कत जुटाएका छैनन ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ बाट चुनाव लड्दैछन् । उनले सिके राउतसँगको चुनावी क्षेत्र परिवर्तन गरेका हुन् । जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरी–२ मा विगतकै क्षेत्रबाट चुनाव लड्न लागेका छन् । उनले गत चुनावमा उपेन्द्र यादवलाई पराजित गरेर जित निकालेका थिए । अहिले भने यी दुईले सँगै नलडेर एक अर्कालाई छोडेको देखिएको छ ।
आमजनता पार्टीका अध्यक्ष प्रभु साहले २०६४ देखि नै जित्दै आएको रौतहट–३ मा उम्मेदवारी दिएका छन् । त्यस्तै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सर्लाही–२ बाट उम्मेदवारी दिएका छन् । उनी यस अगाडी महेन्द्रराय यादवसँग चुनावी प्रतिस्पर्धामा पराजित हुन पुगेका थिए ।
महोत्तरीको क्षेत्र नम्बर ३ बाट नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष रिजवान अन्सारी, राष्ट्रिय निर्माण दल नेपालका अध्यक्ष समिम मियाँ अन्सारीले बारा–४ बाट चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्। त्यही क्षेत्रमा समुन्नत नेपाल पार्टीका अध्यक्ष पूर्वआईजीपी सवेन्द्र खनालले पनि चुनावी प्रतिस्पर्धा गर्न लागेका छन् । खनाल र अन्सारी बाहेक अन्य दलका अध्यक्ष सँगै प्रतिस्पर्धामा भने छैनन ।
मधेसमा नेपाली कम्युनिष्ट पार्टीले पनि महत्व दिएको छ । उसको सहसंयोजक माधव नेपाल पनि रौतहट १ बाट चुनाव लड्दैछन् । उनी मात्रै होइन, नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ सर्लाही ३, गिरिराजमणि पोखरेल महोत्तरी १, महेन्द्र राय यादव सर्लाही ४, मात्रिका यादव धनुषा १ बाट चुनावी प्रतिस्पर्धामा उत्रन लागेका छन् ।
यसले पनि देखाउँछ नेकपाका शीर्ष नेताहरु पनि मधेसमै आफनो क्षेत्र निर्माण गर्न खोजिरहेका छन् । मधेस यसकारण पनि चासोमा छ की कुल ३३ सिट रहेको बागमती प्रदेशपछि सिट संख्याका आधारमा ३२ सिट रहेको मधेस दोस्रो ठूलो प्रतिनिधित्व गराउने प्रदेशका रुपमा चिनिन्छ ।
मधेसमा मतदाता रिझाउन खासगरी त्यहाँको राजनीति मधेस आन्दोलन, संघीयता समावेशीता अधिकार र समावेशी मुद्दाहरुको वरिपरि घुम्छ । नागरिकता, समावेशीकरण, संघीयता र राज्यप्रतिम धेसी जनताको गुनासो जस्ता मुख्य सारेकारहरुमा चासो राख्ने मतदातामा यी दलको प्रभाव कस्तो रहन्छ ? त्यो फागुन २१ ले तय गर्नेछ ।
मधेसमा कुल २९ लाख १० हजार २३ मतदाता छन्।मधेसमा समानुपातिक तर्फको गत चुनाव (२०७९)मा मत परिणाम यस्तो थियो ः
मधेस प्रदेशमा कसलाई कति मत ? (समानुपातिक)
कांग्रेस ४३४९७१
एमाले ३७१७०९
माओवादी १७९८७०
रास्वपा १०७०८४
राप्रपा ६८६५३
जसपा २९८७४४
एकीकृत समाजवादी १०७०८४
जनमत पार्टी २९६४८४
(यसमध्ये माओवादी, एकीकृत समाजवादी पार्टी एकता भईसकेको छ अहिले)
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ माघ २०८२, १० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसी दलहरुको एकता समझदारी, तर अझै टुंग्गिएन पार्टी नाम, चुनाव चिन्ह्र र नेतृत्व
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेस प्रदेशसभा बैठक स्थगित
सर्वोच्चको परमादेशपछि मधेसमा राजनीतिक हलचल
मधेस प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि आज सुनुवाइ
मधेसका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि सर्वोच्चमा आज पूर्ण सुनुवाइ हुँदै