गृहमन्त्री गुरुङले ट्राफिक प्रहरी बोलाएर आफ्नै र गृहसचिवको गाडीबाट कालो सिसा हटाउन लगाए

सफल खबर संवाददाता

सोमबार, १५ असार २०८३, १९ : ४८
गृहमन्त्री गुरुङले ट्राफिक प्रहरी बोलाएर आफ्नै र गृहसचिवको गाडीबाट कालो सिसा हटाउन लगाए

काठमाडौँ । सवारी साधनमा अवैध रूपमा जडान गरिएका कालो सिसाविरुद्ध सरकारले आफ्नै नेतृत्वबाट अभियान सुरु गरेको छ। गृहमन्त्री सुधन गुरुङको निर्देशनमा उनले प्रयोग गर्ने सरकारी सवारी तथा गृहसचिव राजकुमार श्रेष्ठले प्रयोग गर्ने सरकारी सवारीबाट कालो सिसा हटाइएको छ। सरकार आफैँले कानुन कार्यान्वयनको उदाहरण प्रस्तुत गर्ने सन्देशसहित अभियानको सुरुआत गरेको गृह प्रशासन स्रोतले जनाएको छ।

गृहमन्त्री गुरुङले सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिलाई बोलाएर आफू र गृहसचिवले प्रयोग गर्ने सवारीबाट तत्काल कालो सिसा हटाउन निर्देशन दिएका थिए। त्यसपछि ट्राफिक प्रहरीले दुवै सरकारी सवारीबाट कालो सिसा हटाएको स्रोतले जनाएको छ।

यससँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरिरहेको कालो सिसा हटाउने अभियानलाई सरकारकै उच्च तहबाट कार्यान्वयन गरिएको सन्देश दिन खोजिएको गृह मन्त्रालय स्रोतको भनाइ छ। सरकारी नेतृत्व आफैँ कानुनी मापदण्ड पालना गर्दै अभियानमा सहभागी भएपछि अन्य सरकारी तथा निजी सवारीका चालक–धनीलाई पनि कानुन पालनामा प्रेरित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस