काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा

सफल खबर संवाददाता

आइतबार, २१ असार २०८३, १४ : १३
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा

काठमाडौँ । नेपाली काँग्रेस धनकुटासँग आबद्ध १९ जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन्। राजीनामा दिनेमा महाधिवेशन प्रतिनिधि तथा पूर्व संविधानसभा सदस्य अञ्जना ताम्लीसमेत रहेकी छन्।

उनीहरूले पार्टीका महामन्त्री गगन थापालाई सम्बोधन गर्दै पार्टी सदस्यता त्याग गरेको जानकारी गराएका हुन्।

राजीनामा दिने अन्य नेतामा कोशी प्रदेश सदस्य मीना राई, क्षेत्रीय सदस्य युवेन तुम्बा तथा क्षेत्रीय प्रतिनिधि राजकुमारी राईलगायत रहेका छन्।

उनीहरूले पार्टीभित्र वैचारिक मतभेद बढ्दै गएको र सक्रिय रूपमा काम गर्ने अनुकूल वातावरण नभएको उल्लेख गरेका छन्।

पार्टी त्याग गरेका नेताहरूले आगामी राजनीतिक यात्रा कुन दल वा अभियानसँग जोडिने भन्ने विषयमा औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। यद्यपि, उनीहरू हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीतर्फ जान सक्ने चर्चा स्थानीय राजनीतिक वृत्तमा भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस