काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आगामी निर्वाचनका लागि टिकट वितरणलाई लिएर असन्तुष्टि चुलिएको छ। विशेषगरी काठमाडौँ क्षेत्र नम्बर ५ मा पूर्वअध्यक्ष कमल थापालाई उम्मेदवार बनाउने नेतृत्वको निर्णयले पार्टीभित्र विद्रोहको स्थिति सिर्जना गरेको हो।
क्षेत्रीय कमिटीको सिफारिसलाई लत्याउँदै अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई टिकट दिएको भन्दै पार्टीका प्रभावशाली युवा नेता हिक्मतजंग कार्कीले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका छन्। राप्रपाको क्षेत्रीय कमिटीले काठमाडौँ–५ का लागि डा. प्रकाशचन्द्र लोहनी, केशव रेग्मी, हेमजंग गुरुङ, नवीन खड्का र हिक्मतजंग कार्कीको नाम सिफारिस गरेको थियो। तर, पार्टी नेतृत्वले यी सबै स्थापित र सक्रिय नामहरूलाई पाखा लगाउँदै केही साताअघि मात्रै पार्टीमा समाहित भएका कमल थापालाई प्राथमिकता दिएपछि विवाद सतहमा आएको हो। थापाले आफ्नो नेतृत्वको राप्रपा नेपाललाई राप्रपामा मिसाउँदा 'निःसर्त' आएको दाबी गरे पनि आगमनको छोटो समयमै प्रभावशाली क्षेत्रको टिकट हत्याउनुलाई धेरैले भित्री सेटिङको संज्ञा दिएका छन्।
पार्टीका केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख कार्कीले सोमबार पत्रकार सम्मेलन गर्दै नेतृत्वको स्वेच्छाचारिता विरुद्ध आक्रोश पोखे । उनले १६ वर्षदेखि पार्टीमा गरेको लगानी र पसिनाको अपमान भएको महसुस गर्दै राजीनामा दिएको बताए। 'नेपालमा जेन्जी आन्दोलनको लहर आएपछि युवाहरूले देश र पार्टीको नेतृत्व सम्हाल्नुपर्छ भन्ने जनचाहना थियो,' कार्कीले भने, 'तर राप्रपा नेतृत्वले युवाहरूको भावना कुल्चँदै शक्ति र सत्ताको केन्द्रमा मात्र ध्यान केन्द्रित गर्यो। नेतृत्वले पावर ट्रान्सफर्मेसनको साटो पुराना र असफल अनुहारलाई लाद्ने काम गरेको छ।'
कार्कीले अध्यक्ष राजेन्द्र लिङ्देनमाथि गम्भीर आरोप लगाउँदै उनी बाहिर एउटा र भित्र अर्कै चरित्र भएको व्यक्ति भएको टिप्पणी गरे। उनले भने, 'गत महाधिवेशनमा हामीले ठुलो आशाका साथ लिङ्देनलाई नेतृत्व सुम्पेका थियौँ। तर अहिले उनी व्यक्तिगत स्वार्थ र सत्ताको सेटिङमा फसेको आभास भएको छ। ९ पटक मन्त्री भइसकेका र पटक–पटक चुनाव हारेका कमल थापालाई टिकट दिनुले पार्टीको विधि र युवा नेतृत्वको मर्ममाथि प्रहार भएको छ।'
कमल थापाको राजनीतिक यात्रालाई हेर्ने हो भने उनी प्रजातन्त्र पुनस्र्थापना पछिको पहिलो आमनिर्वाचन २०४८ मा पराजित भएका थिए। २०५१ को मध्यावधि चुनावमा विजयी भए पनि त्यसपछि उनी प्रायः पराजयकै घेरामा रहे। २०५१ यता उनी विभिन्न ८ वटा प्रधानमन्त्रीत्वकाल र ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा गरी ९ पटक मन्त्री बनिसकेका छन्। २०५६, २०६४, २०७४ र २०७९ का निर्वाचनहरूमा लगातार पराजित भएका थापालाई पुनः काठमाडौँ जस्तो संवेदनशील क्षेत्रमा टिकट दिँदा पार्टीले ठुलो क्षति बेहोर्ने असन्तुष्ट पक्षको दाबी छ।
यसअघि नै डा. प्रकाशचन्द्र लोहनीले नयाँ पुस्तालाई अवसर दिनुपर्ने वकालत गर्दै आएका थिए। तर नेतृत्वले उनको सुझावलाई पनि बेवास्ता गरेको देखिन्छ। अर्का आकाङ्क्षी नवीन खड्काले पनि पार्टीको यो निर्णयप्रति कडा आपत्ति जनाएका छन्। कार्कीले त कमल थापाको प्रवृत्तिलाई 'मुसा प्रवृत्ति' को संज्ञा दिँदै राजेन्द्र लिङ्देनले पनि त्यही बाटो पछ्याएको आरोप लगाए। उनले चैत १५ को आन्दोलनका क्रममा आफूले अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको योगदान र राजसंस्थाको पक्षमा अन्तर्राष्ट्रिय लबिङ गरेको स्मरण गर्दै नेतृत्वले योगदानको कदर नगरेको दुखेसो पोखे।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार काठमाडौँका ;a} स्थानको टुङ्गो लागिसकेको छ। जसमा क्षेत्र नम्बर १ मा रवीन्द्र मिश्र, क्षेत्र नम्बर २ मा कुन्ती पोखरेल, क्षेत्र नम्बर ३ मा डा. सुन्दरसिंह बोहरा, क्षेत्र नम्बर ४ मा डा. सुरेन्द्र भण्डारी, क्षेत्र नम्बर ५ मा कमल थापा र क्षेत्र नम्बर ६ मा उद्धवराज भेटवाल रहेका छन्। त्यस्तै, ७ मा लालकुमार लामा, ८ मा नवीन शाही, ९ मा दिलीप कार्की र १० मा बलराम थापालाई उम्मेदवार बनाउने निर्णय भएको छ। रवीन्द्र मिश्रलाई उम्मेदवार बनाउने विषयमा समेत राप्रपामा विवाद रहँदै आएको थियो ।
कार्कीको राजीनामासँगै अन्य युवा नेताहरूले पनि बागी उम्मेदवारी दिने वा विद्रोह गर्ने चेतावनी दिएका छन्। 'पार्टीभित्रको अहिलेको परिवेशमा बस्न असम्भव भयो,' एक नेताले भने, 'युवाहरूलाई केवल नारामा मात्र सीमित राखियो, व्यवहारमा पुरानै असफल पात्रहरूको सिन्डिकेट कायमै रह्यो।'
यस घटनाले आगामी निर्वाचनमा राप्रपाको चुनावी नतिजा र पार्टीको आन्तरिक लोकतन्त्रमाथि गम्भीर प्रश्न खडा गरेको छ। पुराना र पटक-पटक परीक्षण भइसकेका नेताहरूलाई प्राथमिकता दिँदा नयाँ र ऊर्जावान् कार्यकर्ताहरू पार्टीबाट बाहिरिने क्रम सुरु हुनु लिङ्देन नेतृत्वका लागि ठुलो चुनौती बन्न सक्ने कतिपयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ माघ २०८२, १९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् राप्रपाले बुझाएको ११० समानुपातिक उम्मेदवारहरू (सूची)
भोलि बिर्तामोडमा शक्ति प्रदर्शन गर्दै राप्रपा
राप्रपा र राप्रपा नेपालबीच सहमति
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज