समृद्द भरतपुर निर्माणको खाकासहित महानगर प्रमुख दाहालद्वारा निती तथा कार्यक्रम प्रस्तुत (पुर्णपाठसहित)

सफल खबर संवाददाता

आइतबार, १० असार २०८०, १३ : ४०
समृद्द भरतपुर निर्माणको खाकासहित महानगर प्रमुख दाहालद्वारा निती तथा कार्यक्रम प्रस्तुत (पुर्णपाठसहित)

भरतपुर । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।  आइतबार महानगरको नीतितथा कार्यक्रम प्रस्तुत गर्दै मेयर रेनु दाहालले दोस्रो कार्यकालको पद बहालीका अवसरमा गरिएका दुई निर्णयहरू सरकारी स्वास्थ्य संस्थामा जन्मने भरतपुर महानगरवासीका छोरी सन्तानको १ लाख रुपैयाँको १५ वर्ष अवधिको जीवन बीमा र खानेपानी उपभोक्‍ताहरूको ७ हजार लिटरसम्मको महसुल महानगरपालिकाले भुक्तानी गरिदिने सम्बन्धी निर्णय कार्यान्वयनमा ल्याइएको बताइन्।

राष्ट्रिय बीमा संस्थानसँग सम्झौता गरी छोरीसँग मेयर कार्यक्रम मार्फत् हालसम्म ४२५ जना छोरीको जीवन बीमा सम्पन्‍न भइसकेको छ भने खानेपानी महसुल भुक्तानी कार्यक्रममार्फत् १० वटा खानेपानी उपभोक्ता समितिसँग सम्झौता भई १० हजार २ सय ९७  घर परिवारले यो सुविधा उपयोग गरेका छन्।

उनले आगामि वर्ष शहरी पूर्वाधार, भूउपयोग तथा वस्तीविकास र अधुरा योजनाहरुको निरन्तरता, कृषि तथा पशुपालन, शिक्षा विकास, नियमित सडक मर्मत सम्भार, स्वास्थ्य सेवा, वातावरण, सरसफाई एवम् हरियाली निर्माण, सूचना प्रविधि तथा डिजिटल प्राणालीको उपयोग, सहकारी तथा रोजगार प्रवद्र्धन, पर्यटन तथा उद्योग र वाणिज्य प्रवद्र्धन जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको बताइन्।

नागरिकलाई घर आँगनमा नै सरकारको महसुस हुने गरी अधिकार प्रत्यायोजन तथा विकेन्द्रीकरणको सिद्धन्त बमोजिम कम्तीमा एउटा वडास्तरीय गौरवको आयोजना सञ्‍चालन गर्ने गरी वडास्तरीय योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको बताइन्।

सडक अधिकार क्षेत्र १६ मिटर भन्दा बढी भएका सडक निर्माण गर्दा हरियाली,  फुटपाथ र साइकल लेनसहितको सडक निर्माण गर्ने कार्यलाई निरन्तरता दिइने, देश भित्रैको स्रोतसाधनलाई प्रयोग गरी पूर्वाधार निर्माण गर्ने नीति अवलम्बन गरिने, ६ मिटर र ६ मिटरभन्दा सानो क्षेत्राधिकार भएका सडकहरू, भिरालो र घुम्ती चोकहरूमा ढलान गर्ने कार्यलाई प्राथमिकता दिइने उनले बताइन्। केरूङ्गा घोल, पुङ्गी खोला लगायतका खोलाहरूलाई महानगरको सतहको आकाशे पानी निकासको क्षेत्र घोषणा गरी संरक्षण तथा सौन्दर्यीकरण गरिने दाहालले बताइन्।

उनले महानगरको गौरवको आयोजनाको रुपमा रहेको भरतपुर मेट्रो प्लाजाको निर्माण कार्यलाई अगाडि बढाउने, अन्य ठूला र गौरवका आयोजनाहरूलाई सार्वजनिक(निजी साझेदारी विधिबाट सञ्‍चालन गर्ने बताइन्।

संघ र प्रदेश सरकारको सहयोग र सहाकार्यमा महानगरपालिका भित्र निर्माणाधीन रिङ रोड र लिङ्क कार्य निर्माण कार्य अगाडि बढाइनेछ र सहिद चोक, हाकिमचोक र मालपोत चोकजस्ता व्यस्त चोकहरूमा आकाशे पुल निर्माण गर्ने लक्ष्य महानगरको छ।

खाल्टाखुल्टी मुक्त महानगरको अभियानलाई निरन्तरता दिई महानगरपालिकामा निर्मित पूर्वाधारहरूको साना मर्मत सम्भार कार्यहरू तत्काल कार्यान्वयन गर्न पूर्वाधार एम्बुलेन्ससहितको प्राविधिक टिम बनाई परिचालन गर्ने मेयर दाहालले बताइन्।

विपी शान्ति नगरवन क्षेत्रलाई निजी क्षेत्रसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय पूर्वाधारका रूपमा विकास गरिने, अन्य सामुदायिक वनहरूलाई पनि दिगो पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दै लगिने उनले बताइन्। 

भरतपुर महानगरपालिकाको आर्थिक सामाजिक रुपान्तरणका लागि अन्य क्षेत्रहरूसँगको स्थल कनेक्टिभिटीलाई प्राथमिकता दिइने, संघीय सरकारको सहयोगमा नारायणगढ पुल्चोकस्थित नारायणी नदीमा सिग्नेचर पुल समयमा निर्माण सम्पन्‍न गर्न आवश्यक समन्वय गरिने, साथै भरतपुरलाई कावासोतीसँग जोड्न वडा नं। २६ को घोसरघाटस्थित नारायणी नदीमा र माडीसँग जोड्न वडा नं२४ को ध्रुवघाटस्थित राप्‍ती नदीमा सडक पुल निर्माणका लागि संघीय सरकारसँग आवश्यक समन्वय गर्ने दाहालले बताइन्।

महानगरले सडकमा अनुचित ढङ्गबाट राखिएका निर्माण सामग्रीका कारण आवागमनमा अवरोध गर्ने र दुर्घटना हुने, महानगरपालिकाबाट निर्माण भएका सडक, फुटपाथ बिग्रने भएको हुँदा त्यस्तो गर्ने व्यक्ति तथा निर्माण व्यवसायीलाई कारवाहीको दायरामा ल्याउन उल्लेख गरेको छ। जरिवाना र मर्मत खर्च यकिन गरी सम्बन्धित पक्षबाट असुल उपर गर्ने नीति कडाइका साथ कार्यान्वयनमा ल्याइने मेयर दाहालले बताइन्।

उनले महानगरपालिका भित्र विकास निर्माणका कार्यमा शीघ्रता, गुणस्तरीयता र विश्‍वसनीयता कायम गर्न सम्झौतामा तोकिएको समय अगावै कार्य सम्पन्न गर्ने निर्माण व्यावसायीलाई पुरस्कृत गरिने बताइन्। उनले भरतपुर महानगरपालिकाको वार्ड नम्बर ११ मा ल्याण्ड फिल साइटको निर्माण कार्य, अटोल्याण्ड निर्माणका लागि वडा नम्बर ३ को प्रस्तावित क्षेत्रको डिपीआर र इआइए प्रतिवेदनका आधारमा निजी क्षेत्रको सहकार्यमा कार्यान्वयन प्रकृया अघि बढाउने र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य संघ र प्रदेश सरकारसँग समन्वय गरी अगाडि बढाइने बताइन्।

महानगरले यस वर्ष संघ र प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा भरतपुर महानगरपालिकाको वडा नम्बर १५ मा संघीय शिक्षक अस्पताल र वडा नम्बर १४ मा प्रादेशिक आयुर्वेद अस्पताल निर्माण कार्य प्रारम्भ गर्ने लक्ष्य राखेको छ। भरतपुर विमानस्थलको विस्तार र आधुनिक टर्मिनल भवन निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाउन आवश्यक समन्वय र पहल गर्ने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ।

मेयर दाहालले नारायणी लिफ्ट सिंचाइ आयोजनालाई बाह्रै महिना सञ्‍चालन गर्न संघ र प्रदेश सरकारसँग आवश्यक समन्वय गरी काम अगाडि बढउने बताइन्। साथै वर्षा याममा परेको पानी सञ्‍चित गरी भूमिगत जल प्रणालीलाई संरक्षण गर्न मौजुदा पोखरीहरूको संरक्षण  गर्दै कृत्रिम पोखरीहरू निर्माण गर्ने कार्य अगाडि बढाउने उनले बताइन्।

मेयर दाहालले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन महानगरका मुख्य प्रवेश मार्गमा स्थानीय कला र संस्कृति झल्कने गरी  प्रवेश द्वार निर्माण गर्नुका साथै पर्यटकीय स्थलहरूको सौन्दर्यीकरण गरिने बताइन्।

भरतपुर महानगरपालिकाको आर्थिक वर्ष २०८०।८१ अन्तिम १ (5) (1)-compressed.pdf

प्रतिक्रिया दिनुहोस