सेयर बजारमा उत्साह कायमै, ३ अर्ब ८८ करोडको कारोबार

सफल खबर संवाददाता

मंगलबार, १२ पुस २०७९, १५ : ३१
सेयर बजारमा उत्साह कायमै, ३ अर्ब ८८ करोडको कारोबार

काठमाडौँ  । अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको दोस्रो दिन मंगलबार पनि सेयर बजारमा उत्साह देखिएको छ । कारोबार रकम र परिसूचक दुवैले छलाङ मारेको छ । परिसूचक नेप्से ५९.८७ अंकले बढ्यो । सो अंकको वृद्धिपछि नेप्से १९८३ अंकमा कायम भएको छ ।

यसअघि सोमबार नेप्से ५६ अंकले बढेको थियो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा झण्डै दोब्बर भएको छ । सोमबार २ अर्ब ९ करोडको कारोबार भएकोमा मंगलबार ३ अर्ब ८८ करोडको धितोपत्र किनबेच भयो । २०२ कम्पनीको मूल्य बढ्दा ८ को घट्यो भने २ को स्थिर रहृयो । सबै उपसमूहहरु बढेका छन् । बैंकिङ ३५, विकास बैंक १००, फाइनान्स ६७, होटल तथा पर्यटन ११७, जलविद्युत् ९५, जीवन बीमा ३७२, उत्पादन ७२, माइक्रोफाइनान्स ५५, निर्जीवन बीमा २८३, अन्य ३७ र व्यापार उपसमूह ५३ अंक बढे । ८ कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ ।

सिद्धार्थ इन्स्योरेन्स, मल्टिपर्पोज फाइनान्स, अजोड इन्स्योरेन्स र सिर्जनशील लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । धौलागिरि लघुवित्त, कालिका पावर, तेह्रथुम पावर र निफ्राको मूल्य पनि करिब १० प्रतिशत (साढे ९ प्रतिशतभन्दा धेरै) बढ्यो । कारोबार रकमका आधारमा लक्ष्मी बैंक, नेपाल टेलिकम, हिमालयन डिस्टिलरी, नबिल बैंक र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहे ।

 

 

प्रतिक्रिया दिनुहोस