को बन्ला गण्डकीको मुख्यमन्त्री ?

सफल खबर संवाददाता

मंगलबार, १२ पुस २०७९, ०९ : ०४
को बन्ला गण्डकीको मुख्यमन्त्री ?

गण्डकी । केन्द्रीय समीकरण फेरिएसँगै गण्डकी प्रदेशको सत्ता राजनीतिमा पनि बदलाव आएको छ। २७ सिट जितेर प्रदेश सरकारको नेतृत्व लिन तम्तयार रहेको नेपाली कांग्रेसलाई एकाएक प्रतिपक्षमा बस्नुपर्ने स्थिति आइलागेको छ।

तत्कालीन नेकपा विभाजनपछि सरकारको नेतृत्वबाट बाहिरिएको एमाले डेढ वर्षपछि पुनः सत्तामा फर्किँदै छ। अकस्मात विकसित राजनीतिक घटनाक्रमले प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेस सत्ताबाहिर रहनुपर्ने देखिएको छ। केन्द्रीय सत्ता समीकरण प्रदेशमा पनि लागू हुने र सोहीअनुसार भागबण्डा हुने स्थितिमा नयाँ गठबन्धनकै सरकार बन्नेछ।

गण्डकी प्रदेशसभाका कूल ६० सदस्यमध्ये सरकार गठनका लागि बहुमत सङ्ख्या ३१ चाहिन्छ जुन नयाँ गठबन्धनसँग छ। प्रदेशसभाको दोस्रो ठूलो दल एमालेसँग २२, माओवादी केन्द्रसँग आठ र राप्रपासँग दुई सदस्य छन्। एक सदस्य रहेको एकीकृत समाजवादीको समेत समर्थन लिन सके गठबन्धन दलको सदस्य सङ्ख्या ३३ पुग्छ। जसबाट सजिलै सरकार बन्न सक्छ।

गण्डकीको सत्ता राजनीतिले नयाँ मोड लिएसँगै प्रदेश सरकारको तेस्रो मुख्यमन्त्री को बन्ला भन्ने चासो बढेको छ। नयाँ गठबन्धनका मुख्य दुई घटक एमाले र माओवादी केन्द्र दुवैले सरकारको नेतृत्वमा दाबी गरिरहेका छन्। यद्यपि केन्द्रमा हुने सहमतिअनुसार नै प्रदेशको शक्ति बाँडफाँट हुने नेताहरूले बताएका छन्। एमालेका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपालीले गण्डकी प्रदेश सरकार एमालेकै नेतृत्वमा बन्ने बताए।

“एमालेको नेतृत्वमा सरकार बन्छ र खगराज अधिकारी मुख्यमन्त्री बन्नुहुन्छ भन्नेमा हामी ढुक्क छौँ”, उनले भने। आइतबारदेखि राजनीतिमा नयाँ परिस्थिति निर्माण भएकोले त्यसकै भावअनुसार प्रदेशको सत्ता अभ्यास अघि बढ्ने केन्द्रीय सदस्य नेपालीले बताए। “केन्द्रमा पनि गठबन्धन दलबीच सहमतिको खाका बन्ला, कुन–कुन प्रदेश कसले लिने भन्ने त होला तर गण्डकीमा एमालेको बलियो दाबी रहन्छ”, उनले भने।

सरकारको नेतृत्व एमालेले लिए पनि गठबन्धनका अन्य दलहरूलाई पनि मन्त्रिमण्डल बनाउँदा सम्मानजनक भूमिका र स्थान दिइने उनले बताए। बिहीबार प्रदेशसभा सदस्यको शपथ ग्रहणपछि सरकार निर्माणका लागि अग्रसरता बढाउने उनको भनाइ छ। नयाँ गठबन्धनमा दोस्रो तथा प्रदेशसभामा तेस्रो ठूलो दल माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ। माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर चुमानले आफ्नो पार्टीको दाबी स्वाभाविक रहेको उल्लेख गरे।

“कांग्रेससँगको गठबन्धन हुँदा पनि अहिले गण्डकीको मुख्यमन्त्री हामीले पाउने भन्ने थियो, अहिले नयाँ समीकरण बनेको छ, मुख्यमन्त्री हामीले पाउनुपर्छ, माथि पनि त्यहीअनुसार कुरा राख्छौँ”, उनले भने। मुख्यमन्त्रीमा आलापालो हुने भन्दै प्रदेशसभा सदस्य चुमानले पहिला माओवादीलाई दिनुपर्ने बताए। प्रदेश पार्टीले चाहेर मात्र नहुने भन्दै केन्द्रमा गठबन्धन दल र नेताहरूबीच हुने सहमतिले सबै कुराको छिनोफानो गर्ने उनको भनाइ छ।

“केन्द्रमा जे सहमति हुन्छ, त्यसलाई मानेर जानैपर्छ, माथि कस्तो परिस्थिति बन्छ, हामी पनि त्यसकै पखाईमा छौँ”, उनले भने। केन्द्रबाट आउने निर्णयपछि ससंदीय दलको नेता चयन गर्ने तयारीमा माओवादी केन्द्र छ। अहिले पनि चुमान नै दलको नेता बन्ने निश्चित जस्तै छ। एमालेले भने आइतबार सर्वसम्मतरूपमा खगराज अधिकारीलाई दलको नेता चुनेको छ। कास्की–१ ९१० बाट निर्वाचत उनी मुख्यमन्त्रीकै लागि सङ्घको राजनीतिबाट प्रदेशमा झरेका हुन्।

तनहुँ–१ ९२० बाट निर्वाचित चुमान यसअघि गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री थिए। प्रदेश प्रमुखले बहुमतसहित सरकार गठनको दाबी गर्न आह्वान गरेपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने जनाइएको छ। कुनै पनि दलले बहुमत प्राप्त नगरेको स्थितिमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन हुनेछ। उक्त संवैधानिक व्यवस्थाअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभाको सदस्यलाई प्रेदश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस