संयुक्त विज्ञप्ति जारी गर्दै युवा नेताहरूले भने - प्रतिगामी मागविरुद्ध एकजुट बनौं

सफल खबर संवाददाता

विहीबार, २६ भदौ २०८२, १६ : ३१
संयुक्त विज्ञप्ति जारी गर्दै युवा नेताहरूले भने - प्रतिगामी मागविरुद्ध एकजुट बनौं

काठमाडौं । पूर्वविद्यार्थी नेताहरूले जेनजी आन्दोलनको नाममा भएको विध्वंसको आवरणमा संसद् विघटन गर्नुपर्ने कुरा उठाइएको भन्दै कडा रूपमा प्रतिवाद गर्न आह्वान गरेका छन् ।

पूर्वविद्यार्थी नेताहरू नैनसिंह महर, माधव ढुंगेल, नरेन्द्र न्यौपाने, पञ्चा सिंह, आरती लामा, विमल पोखरेल, राजीव ढुंगाना, रुपनारायण श्रेष्ठ, नवीना लामा, रञ्जित तामाङ, सुदेश पराजुली र अनिलकिशोर घिमिरेले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले राजीनामा र राजा ल्याउनेजस्ता प्रतिगामी मागहरू उठ्न थालेको हुनाले सबै प्रकारका प्रतिगामी हर्कतका विरुद्धमा एकजुट हुन आह्वान गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘जननिर्वाचित संसद् जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने थलो भएको हुनाले प्रतिगामी तथा केही अवान्छित तत्वहरूबाट गरिएको संसद् विघटन गर्ने मागलाई दृढतापूर्वक अस्वीकार गरी आम जनता र युवाहरूको भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने जस्ता मागलाई सम्बोधन गर्न, संसदबाटै राजनीतिक निकास खोज्न, संसदभित्रबाटै नयाँ सरकार गठन गरी चुनावको वातावरण बनाउनु आजको वास्तविक यथार्थ र आवश्यकताको जोड दिन चाहन्छौँ ।’

विद्यार्थी र युवाहरूले उठाएका मुद्दा, देशको समस्या वर्तमान संविधान, यसमा आवश्यकता अनुसार गरिने संशोधन र संसदीय प्रक्रियाबाटै समाधान हुनसक्नेमा उनीहरूको विश्वास छ ।

विज्ञप्तिमा भनिएको छ, ‘देशलाई अग्रगामी दिशामा लैजान, आन्दोलनरत युवा, विद्यार्थीहरु तथा आम जनताका मागको सम्बोधन, जनचाहना अनुरूप संविधान संशोधनलगायतका कार्यहरू बृहत् राजनीतिक संवाद र सहमतिमार्फत मात्रै हुन सक्ने विषय भएको ठहर गरेका छौं । संसद् विघटन, राष्ट्रपतिको राजीनामा, कथित स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठनजस्ता प्रतिगामी मागका विरुद्धमा सडक सङ्घर्षमा उत्रिन तयार रहन सम्पूर्ण युवा विद्यार्थीहरूलाई अपिल गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस