काठमाडौं । नेपाल बार एशाेसिएशनले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको संसद विघटनको कदमप्रति आपत्ति जनाएको छ ।
गएराति नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले संसद विघटन गरेपछि एक विज्ञप्ति जारी गर्दै बारले उक्त कदम असंवैधानिक भएको जनाएको हो । बारले उक्त निर्णयको भर्त्सना समेत गरेको छ ।
बारले विज्ञप्तिमा राष्ट्रपतिको उक्त कदम स्वेच्छाचारी र असंवैधानिकका साथै कानूनी शासन, संवैधानिक सर्वोच्चता तथा संविधानवादको विपरित रहेको उल्लेख गरेको छ ।
राष्ट्रपतिको यो कदम नेपाली जनताले लोकतन्त्रका लागि गरेको लामो र कठिन संघर्षलाई गम्भीर रुपमा कमजोर पार्ने र लोकतन्त्र, गणतन्त्र र समावेशिता सहितको संघीयताजस्ता उपलब्धि खोस्नेतर्फ लक्षित रहेको बारको ठहर छ ।
प्रतिनिधिसभा विघटन गरिनु सर्वोच्च अदालतको यसअघिको संसद पुनस्थापना सम्बन्धी निर्णय विपरित हुने उल्लेख गर्दै बारले कुनै पनि बहानामा पश्चगामी कदमलाई अस्वीकार गर्ने बताएको छ ।
बारले लोकतन्त्रको तत्काल पुनस्थापना र संवैधानिक सर्वोच्चताको अटल पालनाको लागि जोडदार माग गरेको छ । यसका साथै सबै सरोकारवालाहरूलाई संविधानमा निहित जनचाहनाको सम्मान गर्न र कठिन संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई अस्थिर बनाउन सक्ने कुनै पनि कार्यबाट सचेत रहन आह्वान समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ भदौ २०८२, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ जिल्ला अदालत बारको अध्यक्षमा चिलुवाल
नेपाल बारमा आज निर्वाचन, अध्यक्षमा मिश्र र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा
किन चर्कियो बार बेन्चको विवाद ?