सार्वजनिक सुनुवाइमा दिल्लीका मुख्यमन्त्रीमाथि आक्रमण प्रयास

एजेन्सी

बुधबार, ०४ भदौ २०८२, ११ : ३८
सार्वजनिक सुनुवाइमा दिल्लीका मुख्यमन्त्रीमाथि आक्रमण प्रयास

काठमाडौँ। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि बुधबार बिहान एक व्यक्तिले आक्रमण गर्ने प्रयास गरेका छन्। घटना मुख्यमन्त्री गुप्ताको निवासमा सार्वजनिक सुनुवाइका क्रममा भएको हो।

दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदेवाका अनुसार, एक व्यक्तिले कागजात देखाउने बहानामा मुख्यमन्त्रीसमक्ष पुगेर हात समातेर तान्ने प्रयास गरेका थिए। त्यस क्रममा धक्का–मुक्की हुँदा मुख्यमन्त्रीको टाउको टेबुलको कुनामा ठोक्किएर सामान्य चोट लागेको र उनलाई तत्कालै अस्पताल पुर्‍याइएको बताइएको छ। आक्रमण प्रयास गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

घटनाप्रति विभिन्न राजनीतिक दलहरूले प्रतिक्रिया जनाएका छन्। कांग्रेस सांसद एम. टागोरले मुख्यमन्त्रीको सुरक्षा सुनिश्चित गर्नु दिल्ली प्रहरीले आफ्नो जिम्मेवारी भएको भन्दै घटनाप्रति खेद प्रकट गरे।

शिव सेना (यूबीटी) की सांसद प्रियंका चतुर्वेदीले यसलाई अत्यन्तै लज्जास्पद र दु:खद घटना भनेकी छिन्। त्यस्तै, दिल्ली कांग्रेस अध्यक्ष देवेन्द्र यादवले “आजको घटनाले दिल्लीमा कोही पनि सुरक्षित छैन भन्ने तथ्य उजागर भएको” टिप्पणी गरेका छन्।