स्थानीय तह निर्वाचन

चितवनमा गठबन्धनले टुंग्यायो भागबण्डा, उम्मेदवार पनि आजै छानिने

कांग्रेसलाई २० वटा वडा

सफल खबर संवाददाता

आइतबार, ११ बैशाख २०७९, ११ : २७
चितवनमा गठबन्धनले टुंग्यायो भागबण्डा, उम्मेदवार पनि आजै छानिने

चितवन । चितवनमा सत्ता गठबन्धनका दलले सात पालिकामा भागबण्डा टुंग्याएका छन् । भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्र र उपमेयर कांग्रेसले पाउने गरी पालिकामा भागबण्डा गरिएको छ । 

भागबण्डा टुंगिएपनि भरतपुरबाहेक अन्य पालिकामा उमेदवारको अझै टुंगो लागेको छैन । दलहरुले आज साँझसम्ममा उमेदवारको पनि टुंगो लगाउने तयारी गरेका छन् । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता गर्ने समयावधि आयोगले तोकेको छ ।

कांग्रेसका उपसभापति राजीव न्यौपानेले आज साँझसम्म गठबन्धनले उमेदवारको टुंगो लगाउने जानकारी दिए । भोलि १ बजे संयुक्त रुपमा मनोनयन दर्ता गरिने उनले बताए । ‘आज बेलुकासम्म उमेदवारहरूको टुंगो लगाइन्छ । भोलि १ बजे चौविसकोठीदेखि झाँकीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर संयुक्त रुपमा मनोनयन दर्ता गर्ने तयारी छ’, उनले भने ।

भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले उमेदवारी दिने भएकी छन् । उपमेयरमा कांग्रेस भरतपुर महानगर समितिका सभापति चित्रसेन अधिकारीको चर्चा छ ।कांग्रेसले रत्ननगर, खैरहनी, कालिका र इच्छाकामनाको प्रमुखमा उमेदवार उठाउने गरी सत्ता गठबन्धनमा सहमति भएको उनले बताए । माओवादी केन्द्रले माडी र नेकपा (एकिकृत समाजवादी)ले राप्तीको प्रमुखमा उमेदवार उठाउने सहमति भएको छ ।

त्यस्तै, कांग्रेसले राप्ती र माडी, समाजवादीले रत्ननगर र माओवादीले खैरहनी, कालिका र इच्छाकामनाको उपप्रमुखको पदमा उमेदवार उठाउने छ । सात पालिकाका ९८ वटा वडामध्ये कांग्रेसले ५९ वटा वडा पाएको न्यौपानेले बताए । बाँकी ३९ वडामा माओवादी र समाजवादी मिलेर भागबण्डा गर्दै छन् ।

भरतपुर महानगरका २९ वडामध्ये कांग्रेसले मात्रै २० वडा पाउने सहमति भएको उनले बताए । साथै माओवादी केन्द्रले ५ र नेकपा एकीकृत समाजवादीले ३ वटा वडा पाउने टुंगो लागेको छ । सहमतिअनुसार कांग्रेसले १, २, ३, ४, ५, ६, ७, ८, १०, १४, १५, १६, १७, १८, १९, २०, २१, २३, २७ र २९ नम्बर वडामा आफ्नो भागमा लिएको छ भने ११, १३, २४, २५,२८ नम्बर वडा पुष्पकमल दाहाल प्रचण्ड नेृतृत्वको नेकपा माओवादी केन्द्रलेले पाएको छ । 

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले  ९, १२ र २२ नम्बर वडा लिने गरी सहमति भएको छ । पाँच दलको गठबन्धनका जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालगायतले कुनै पनि वडा भागबन्डामा नपाए पनि २६ नम्बर वडाको भागबन्डा भने टुंग्याउन बाँकी छ ।

महानगरको प्रमुखमा भने कांग्रेसका असन्तुष्ट नेता कार्यकर्ताहरुले आज स्वतन्त्र उमेदवारी दिने तयारी गरेका छन् ।