चितवन। चितवनमा सञ्चालनमा रहेका सबै एम्बुलेन्स सेवामाथि कडाइ गरिने भएको छ। २०८३ वैशाख १६ गते बसेको एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिल्लाभर सञ्चालनमा रहेका एम्बुलेन्सलाई ७ दिनभित्र जनस्वास्थ्य कार्यालयमा अनिवार्य दर्ता गर्न निर्देशन दिएको छ।
बैठकको निर्णयअनुसार दर्ता भएका एम्बुलेन्सले १५ दिनभित्र अनिवार्य रूपमा GPS जडान गरी सोको जानकारी जनस्वास्थ्य कार्यालयमा पेश गर्नुपर्नेछ। तोकिएको समयभित्र दर्ता नगर्ने तथा GPS जडान नगर्ने एम्बुलेन्सको सञ्चालनमा रोक लगाइने जनाइएको छ।
एम्बुलेन्स भाडादर निर्धारणका लागि जनस्वास्थ्य कार्यालय प्रमुखको संयोजकत्वमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालय, जिल्ला प्रशासन कार्यालय, रेडक्रस सोसाइटी, एम्बुलेन्स चालक संघ तथा भरतपुर महानगरपालिकाका प्रतिनिधि रहने उपसमिति गठन गरिने निर्णय भएको छ। उपसमितिको सिफारिसअनुसार भाडादर लागू गरिनेछ।
त्यस्तै, अस्पताल वा स्वास्थ्य संस्थामा बिरामी पुर्याएपछि अनावश्यक रूपमा पार्किङ गरेर राख्ने प्रवृत्ति नियन्त्रण गरिने र उल्लंघन गर्नेलाई कारबाही गरिने जनाइएको छ।
जिल्लाको पूर्वी र पश्चिमी क्षेत्रमा एक–एक वटा ‘डेडिकेटेड एम्बुलेन्स’ २४सै घण्टा खटाइने निर्णय पनि गरिएको छ। ती एम्बुलेन्समा स्वास्थ्यकर्मीको व्यवस्था गरिनेछ भने चालकका लागि आवश्यक सहयोग जुटाउन उद्योग वाणिज्य संघहरूसँग समन्वय गरिने बताइएको छ।
बैठकले एम्बुलेन्स चालक र स्वास्थ्य संस्थाबीच हुने अनावश्यक मिलेमतो रोक्न तथा बिरामीमैत्री, मर्यादित र पारदर्शी सेवा प्रवाह सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। साथै, जिल्लाभर सञ्चालनमा रहेका सबै एम्बुलेन्सको नियमित प्राविधिक जाँच तथा चालकले अनिवार्य पोशाक लगाउनुपर्ने व्यवस्था समेत लागू गरिने भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ बैशाख २०८३, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने
चितवनमा मतदानस्थलको सुरक्षा मूल्यांकन सम्पन्न