पाखारेखामा फलफूलकै जंगल बनाउने डिभिजन वन कार्यालय चितवनको योजना, २ लाख ५ हजार बढी बिरुवा निशुल्क वितरण हुँदै (भिडियोसहित)

प्रकाश सिग्देल

शुक्रबार, १८ असार २०७८, १६ : ४०
पाखारेखामा फलफूलकै जंगल बनाउने डिभिजन वन कार्यालय चितवनको योजना, २ लाख ५ हजार बढी बिरुवा निशुल्क वितरण हुँदै (भिडियोसहित)

चितवन । गाउँका डाँडापाखाभरि लटरम्म  फलफूल फलाउने योजना सहित डिभिजन वन कार्यालय चितवनले अहिले धमाधम फलफूलका बिरुवा निशुल्क रुपमा वितरण गरिरहेको छ ।

सामुदायिक वन तथा कबुलियती वन विकास कार्यक्रम अन्तर्गत धमाधम अहिले डिभिजन वनले फलफूलका बिरुवा वितरण गरी पाखारेखामा बस्ने स्थानियलाई फलफूल उत्पादनमा प्रेरीत गर्न थालेको हो ।

वनले उत्पादन गरेका बिरुवा सर्वसाधारणले कुनै सोर्सफोर्स बिना नै संघ संस्थाको निवेदनका आधारमा वनको मापदण्ड अनुसार सहजै निशुल्क रुपमा प्राप्त गर्न सक्ने छन् ।  यो वर्ष पनि वनले आफनै नर्सरीमा २ लाख ५ हजार बिरुवा उत्पादन गरेको डिभिजन वन कार्यालय चितवनका सुचना अधिकारी तथा सहायक वन अधिकृत बालकृष्ण खनालले बताए ।

आफनो नर्सरीमा उत्पादित बिरुवा  वनले  वितरण गर्न सुरु गरिसकेको छ । २ लाख ५ हजार बिरुवा मध्ये ५ हजार बहुवर्षे बिरुवा उत्पादन गरेको र यिनीहरु ३ वर्ष पछि वितरण हुने खनालको भनाई छ ।

त्यस्तै बाँकी २ लाख बिरुवा मध्ये १ लाख ५० हजार बिरुवा जिल्ला वन पैदाबार आपुर्ति मार्फत उत्पादन भएको र ५० हजार बिरुवा ससर्त अनुदान कार्यक्रम मार्फत उत्पादन गरिएको खनालको भनाई छ ।

चाहने जतिले अवश्यकता अनुसार पाउँछन् बिरुवा

जिल्लामा रहेका ९३ वटा सामुदायिक वन, ४३० कबुलियती वन, र ५ वटा धार्मिक वनलाई आफूहरु मार्फत बिरुवा निशुल्क प्रदान हुने गरेको खनालको भनाई छ । त्यसका साथै संघ संस्थाहरुबाट माग भई आएमा उनीहरुलाई पनि बिरुवा उपलब्ध गराईने गरिएको छ । वनले घरबारी र करेसा बारीमा रोप्न चाहानेलाई एक दुई वटा बिरुवा कुनै कागजात बिनै नाम र फोन नम्वर टिपोट गरेर उपलब्ध गराउने गरेको छ ।

खालि जमिनमा वृक्षारोपण गरि हरियाली बनाउने र कटानजन्य क्षेत्रमा बिरुवा रोपी भुक्षय हुन नदिन पनि यो अभियानले महत्वपुर्ण भुमिका खेलेको खनालको भनाई छ ।  

४ प्रजातीका २ दर्जन बढि जातका बिरुवा निशुल्क वितरण

आफनै नर्सरीमा बिशेष गरी ४ प्रजातीका २ दर्जन बढि जातका बिरुवा उत्पादन र वितरण हुने गरेको खनालले बताए । जटिबुटीजन्य, सौन्र्दय जन्य, र फलफूल जन्य र रुख जन्य बिरुवा यहा उत्पादन र बितरण हुदै आएको छ । फलफूलमा कागती र अम्बा, जटिबुटीमा गुर्जो, तेजपात, बेल, निम र  सौन्दर्य जन्यमा कपुर, धुपी, राजबृक्ष, म्यागोस्टीक लगायत रहेका छन् । त्यस्तै रुख जन्य बिरुवामा सतिसाल बडहरलाई बढि जोड गरिएको खनालले बताए ।

अव चितवनमै फल्छ दाँतेओखर

चितवनमा दाँतेओखर पनि फलाउने योजना वनले बनाएको छ । यो वर्ष टेण्डर गरेर वनले दाँतेओखर, चुच्चेओखरका बिरुवा किनेको छ । त्यस्तै यी बाहेक फलफूलका अन्य जातमा आँप, लिचि, कागति, एभोकाडो, किवि ,डग्रन फुड, सुन्तला, अनार लगायतका बिरुवा पनि टेण्डर मार्फत खरिद गरेर ल्याएको खनालले बताए । आफुहरुले बिशेषगरी कबुलियत वनलाई लक्षित गरेर यी बिरुवा वितरण गरिने खनालको भनाई छ ।

सिस्टमले आफै दिन्छ बिरुवा

हरेक ठाँउमा चिनजान र सिफारिस बिना काम नहुने समस्याबाट ग्रसित बनेका आम नागरिकले बिरुवाका लागि भने कसैलाई सोर्स लगाउन नपर्ने नियम वनले बनाएको छ । बिरुवा लिन जाँदा जनप्रतिनिधि र कर्मचारी नचिने पनि तपाईलाई सिस्टमले आफै चिन्छ र बिरुवा प्राप्त गर्न सक्नुहुनेछ ।

बिरुवा लिनका लागि जाने जो कोही नागरिक नर्सरीमा बिरुवा हुदा सम्म त्यहाँबाट खालि हात फर्कन नपर्ने खनालले बताए । धेरै बिरुवा चाहिनेले संघ संस्थाको लेटर प्याडमा परिणाम उल्लेख गरेर आएपछि नर्सरीमा लगेर दर्ता गरेपछि प्राप्त गर्नेछन् भने घरबारी र करेसाबारीमा रोप्न चाहानेले आफनो नाम र नम्वर टिपाएपछि आफुले चाहोको १/२ वटा बिरुवा सजिलै लान पाउने छन् ।

भोजाड देखि बिरुवा लिन पुगेका उदिप मगरले नर्सरीमा जानासाथ आफुले माग गरेको बिरुवा सजिलै पाएको बताए । चिनेको जानेको कोही नभएपनि आफुले घरमा रोप्ने हो थोरै मात्रामा भए हुन्छ भनेर भनेपछि नाम र फोन नम्वर टिपाएर बिरुवा आफुले प्राप्त गरेको उनले बताए ।

अहिले धमाधम विभिन्न व्याक्ति संघसंस्था र वन समितिका अधिकारीहरुले यहाँबाट बिरुवा लगिरहेका छन् ।  

 

प्रतिक्रिया दिनुहोस