कोरोना भाईरस भन्दा सुन्तला भाईरसबाट त्रसित छन् तामिनका बासिन्दा , कसरी भए हजारौ सुन्तलाका रुख एकाएक सखाप ?

प्रकाश सिग्देल

आइतबार, ३० जेठ २०७८, १६ : १०
कोरोना भाईरस भन्दा सुन्तला भाईरसबाट त्रसित छन् तामिनका बासिन्दा , कसरी भए हजारौ सुन्तलाका रुख एकाएक सखाप ?

चितवन ।आजभोली यो पाखामा मलाई हेर्नै मन छैन । घर बाट बाहिर पनि जान मन लाग्दैन् ।मन थाम्न गाउँतिर जाँउ, मुग्लिन तिर झरु कोरोना भाईरसको त्रास छ । बारीतिर पाखा तिर जाँउ सुन्तला भाईरसको पिडाले मन पोल्छ । पाखा रेखामा बसेर केही आम्दानी गर्ने एउटा मात्रै माध्यम थियो सुन्तला खेती त्यो पनि कोरोना भाईरस भन्दा खतरनाक भाईरस आएर पुरै गाउँका सुन्तला सखाप पारेको छ । कसरी मन थाम्ने अहिले गाउँका किसानहरु कोरोना भाईरस भन्दा सुन्तलाको भाईरसले धेरै पिडामा छौ । चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्वर ५ तामिनका स्थानिय बासिन्दा हर्क बहादुर सुनारले आँखा रसिलो बनाउँदै आफनो पिडा सुनाए ।तामिनका अरु किसानको पिडा सुनारको भन्दा कम छैन । सरकारी जागिर खाएको भए पेन्सन पाकिसक्थ्यो, त्यती धेरै समय लगाएर हुर्काएको सुन्तला अलि अलि आम्दानी दिन थालेपछी सबै मरेर सखाप हुँदा अब कसरी जिवन धान्ने भन्ने चिन्तामा आफुहरु छट्पटीन थालेको तामिन भञ्ज्याङका किसान रेसम बिकले बताए । १५० सुन्तलाले अलिअलि फल दिन थालेको थियो २ वर्ष देखी धमाधम मर्न थालेको छ  । अहिले एक बुटो पनि हरियो छैन् लौन केही उपाए लाग्छ भनी भनिदिनुस हाम्रो दुख कसैले देखेन । उनले पनि निकै पिडाको भावमा आफना समस्या हामिलाई सुनाए । 

दुई वर्ष अगाडी सम्म सुन्तला बाट बार्षिक ५ लाख सम्म पैसा लिने गरेकी सीता नेपालको पनि पिडा दर्दनाक छ । सोच्नै नसकिने गरी कोरोना भाईरस भन्दा खतरनाक सुन्तला भाईरसबाट गाउँभरीकै सुन्तला सखाप भएको नेपालले बताईन् । गाउँमा प्रतिघर कम्तिमा पनि १०० देखी ४०० सम्म सुन्तलाका रुख हरु रहेकोे तर अहिले कुनै एक जनाको पनि सुन्तलाको रुख हरियो देख्न नपाईने उनले सुनाईन् । यहा दुई वर्ष देखी टुप्पो बाट मर्दैै फेद सम्म आउने रोगले सुन्तला सखाप बनेको छ । अहिले सम्म कुनै पनि बिज्ञ आएर यसको यो समस्या हो समाधान यसरी हुन्छ  भनेर समेत भन्न सकेको छैन् । आफनो १७० बटा सुन्तला र ३० वटा कागतीको बिरुवा रहेकोमा मा अहिले सबै सुकेर काटेर दाउरा बनाएको उनले सुनाईन् । 

२ वर्ष अगाडी सम्म तामिनको पुरै डाँडोनै सुन्तला बगान रहेको थियो । तर अहिले पुरै सुन्तला बगान सुकेर सखाप भएको छ । अधिकाशंत किसानहरुले रुख काटेर अन्य खेती गर्न थालेका छन् । केही भएका रुखहरु पनि विस्तारै सुक्दै गएको देखिन्छ । १० औ वर्ष मलजल गरेर खुवाएका सुन्तलाका रुख अहिले बोडी र घिरौलाका लागी झयाक्रो बनाउन किसान बाध्य छन् ।गाउँका पाखाभरी काटेर लडाएका सुन्तलाका सुकेका हागा र रुखहरु देख्न सकिन्छ । चितवनको अत्याधिक सुन्तला खेती हुने क्षेत्रका रुपमा तामिन प्रख्यात ठाउँ थियो । जिल्ला कृषि ज्ञान केन्द्र चितवनले यसलाई सुन्तला पकेट क्षेत्र घोषणा समेत गरेको थियो । तर दुई वर्ष देखी सुन्तला मर्न थालेपछि भने यसको मुल कारण के हो भनेर कसैले पनि चासो नदिएको स्थानिय किसानहरु बताउँछन् । 

करोडौको सुन्ताला हजारमा झर्दै 

तामिनमा ३ वर्ष अगाडि सम्म दुई करोड बढिको सुन्तलाको कारोबार हुने गरेको तामिन कृषि बहुउदेश्य सहकारी संस्थाका अधिकारीहरुले बताएका छन् । गत वर्ष जम्मा ३० लाखको कारोबार भएको र यो वर्ष दुई वटा बगैचामा मात्रै सामान्य दाना लगाएकोले उत्पादन खासै नहुने सहकारीका अधिकारीहरुले बताए । 

के भन्छन् जनप्रतिनिधि 

ईच्छाकामना गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष मोदराज सिलवालले तामिनमा आश्चर्यचकित पार्ने गरी सुन्तला र अमिलो जातका फलफुलका रुखहरु सुकेर गएको बताए । कुनै एक किसानको मात्रै नभै पुरै गाउँ पाखाको सबै अमिलो जातको फलफुलका बिरुवा सुकेर गएको उनको भनाई छ । आफुहरुले बिज्ञहरुलाई बोलाएर यसको समस्या पहिचान गर्न भनिएपनि बिज्ञहरुले माटोमा समस्या आएकाले यस्तो भएको हुनसक्ने जवाफ दिएको उनको भनाई छ । गाउँपालिकाका अध्यक्ष गिता गुरुङले सबै सुन्तलाका बोटहरु मरेपछि किसानहरुलाइ ठुलो क्षति भएको बताईन् । आफुहरुले अब किसानलाई अन्य बैकल्पिक खेती गर्न आग्रह गरेको र त्यसका लागी गाउँपालिकाले सहयोग गर्ने जानकारी दिईन ।

के भन्छन् सरकारी अधिकारी 

कृषि ज्ञान केन्द्र चितवनले आफुहरुको समस्या समाधानमा ध्यान नदिएको स्थानियले बताईरहदा कृषि ज्ञान केन्द्र चितवनका अधिकारीहरु भने यो समस्या समाधानमा ज्ञान केन्द्रले धेरै प्रयास गरेपनि सफलता हात नलागेको बताएका छन् । यसको स्थाई समस्या समाधानका लागी पुरानो बगैँचा मासेर नयाँ बगैँचा बनाउनुपर्ने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताए। ‘सुन्तलाका बोटहरु बूढो भए, बूढा रुखमा रोगहरुको आक्रमण बढ्यो, अब पुरानो बोट मासेर माटोको परिक्षण गरी नयाँ बिरूवा लगाउनुपर्ने उनको भनाई छ । उनका अनुसार अधिकांश किसानका सुन्तलामा जरा कुहिने समस्या छ । यो समस्या समाधानका लागी सबै पुराना बिरुवा मासेर माटोको पोषण मात्रा मिलाएर नया बिरुवा लगाउनु आवस्यक छ । कृषि ज्ञान केन्द्र चितवनले इच्छाकामनाको वडा नं ५ मा रहेको तामिन क्षेत्र, वडा नं २ मा रहेको तल्लो काउले क्षेत्र, ३ नं वडामा रहेको ढाप र साठीमुरेको केही भागलाई सुन्तला पकेट क्षेत्र घोषणा गरेको छ, तर पकेट क्षेत्रमा नै सुन्तलाका रुख अहिले धमाधम मरेका छन् । 

 
 

प्रतिक्रिया दिनुहोस