जसपा सरकारमा जाने भएसँगै मन्त्री बन्न दौडधुप तिव्र

सफल खबर संवाददाता

बुधबार, १२ जेठ २०७८, ०८ : ४९
जसपा सरकारमा जाने भएसँगै मन्त्री बन्न दौडधुप तिव्र

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने कुरा चलिरहँदा अहिले जसपामा मन्त्री बन्नका लागि दौडधूप शुरु भएको छ । जसपा महन्थ ठाकुर पक्षमा २० जना पूर्वसांसद छन् भने वर्तमान सरकारमा गैर सांसद पनि मन्त्री बन्न सकिने भएको छ । प्रतिनिधिसभा सदस्य नरहेका नेता पनि मन्त्री बन्न पाउने भएपछि थप दौडधूप शुरु भएको हो ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले ठाकुर पक्षलाई कति वटा मन्त्रालय दिने भन्ने कुरा तय नभइसकेको जसपाको केन्द्रीय सदस्य सन्तोष मेहताले बताएका छन् । यता प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहाकार डा.राजन भट्टराइले पनि यस विषय आधिकारिक निर्णय नभइसकेको बताए । 

केन्द्रीय सदस्य मेहताका अनुसार अहिले सबैको नाममा दाउ छ । शीर्षनेता बाहेक अन्य वरिष्ठ नेता पनि मन्त्रीका आकाङ्क्षी देखिएको उनले बताए । शीर्ष नेताहरुमा जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डाारी, अनिलकुमार झा, राजकिशोर यादवको नाम चर्चामा रहेको मेहताले बताए  ।

‘राजेन्द्र महतो संसदीय दलका नेता छन ।। सरकार, सत्ता र बाँकी विषयका बारे अध्यक्ष ठाकुर र महतोले निर्णय लिन्छन् । यस विषयमा उनीहरु बीच छलफल भइरहेको छ,’ केन्द्रीय सदस्य मेहताले भने। तर, जसपाका अध्यक्ष महन्थ ठाकुर भने आफैँ सरकारमा नजाने भएका छन् ।  ‘संसदीय दलको नेताभएका कारण सरकारको नेतृत्व महतोले गर्नुहुन्छ ,’ उनले भने, ‘यी विषयमा निर्णय हुन बाँकी छ ।’

यद्यपि अध्यक्ष ठाकुरको तर्फबाट मन्त्रीको आकाङ्क्षीमा वृषेशचन्द लाल, सर्वेन्द्रनाथ शुक्ला, चन्दा चौधरीलगायतका नेता दौडमा छन् । अध्यक्ष ठाकुरका तर्फबाट मन्त्रीको आकाङ्क्षी भएका वृषेशचन्द लालले भने , पार्टीले जे निर्णय गर्छ त्यही हिसाबले अगाडि बढ्ने हो । ‘यस विषयमा पार्टीभित्र छलफल भइरहेको छ, उनले भने, ‘पार्टीले जे निर्णय गर्छ त्यही निर्णयलाई आत्मसात् गरेर अगाडि बढ्छु ।’ यसैगरी जसपाकी नेत्री चन्दा चौधरीले आफू मन्त्रीका लागि आकाङ्क्षी रहेको बताउदैं आएकी छिन्।