काठमाडौँ । पार्टी एकताको विषयलाई लिएर अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा मतभेद सिर्जना भएको छ। नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने कि मधेस केन्द्रित दलसँग जोडिने भन्ने विषयमा जसपामा विवाद देखिएको हो।
पार्टी एकताबारे वार्ता गर्नको लागि जसपाले संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा कार्यदल बनाएको छ। श्रेष्ठले शनिवार नेकपासँग एकता वार्ता गरेका थिए।
शनिवारको वार्ता सकारात्मक भएकाले आज पनि बैठक बस्ने तयारी रहेको नेता श्रेष्ठले बताए।
उनले भने, ‘वार्ता सकारात्मक रूपमा अघि बढेको छ। विचार, सिद्धान्त र नेतृत्वको विषय मिले छलफल हुनसक्छ। कुराकानी भइरहेको छ। आज पनि ४ बजे पेरिसडाँडामा बैठक बस्न लागेको बताए। श्रेष्ठ नेकपासँग एकता गरेर जानुपर्छ भन्ने पक्षमा छन्।’
तर, महासचिव मोहम्मद इस्तियाक राई र उपमहासचिव प्रदीप यादवलगायत केही नेताहरू मधेश केन्द्रित दलसँग नै मिलेर जानुपर्ने पक्षमा रहेको एक नेताले बताए।
ती नेताले भने, ‘बैठकमा धारणा राख्ने क्रममा मिश्रित धारणा आएको थियो। अध्यक्ष अहिलेसम्म कतै खुल्नुभएको छैन। नेकपासँग कुरा मिले अब सहमतिमै निर्णय हुन्छ होला।’
जसपाले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीलगायत मधेश केन्द्रित दलसँग पनि छलफल गरिरहेको छ।
नेकपासँग वार्तामा रहेका श्रेष्ठले भने एकताको विषयले कुनै विवाद पार्टीमा नरहेको जिकिर गरे। उनले थपे, ‘हामीले पार्टीको निर्णय अनुसार नै नेकपासँग छलफल गरेका हौँ। यो सर्वसम्मत निर्णय हो कुनै विवाद छैन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ मंसिर २०८२, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत र नाउपाले वैशाख १७ गते पार्टी एकता घोषणा गर्ने