रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण

सफल खबर संवाददाता

सोमबार, २१ बैशाख २०८३, १६ : ५५
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक विवाद उत्पन्न नभए वर्तमान सरकार पूर्ण कार्यकाल अर्थात् पाँच वर्षसम्म सञ्चालन हुन सक्ने विश्लेषण गरेको छ।

अशोककुमार राईको नेतृत्वमा दुई दिनसम्म बसेको पार्टी बैठकले सो निष्कर्षसहित समसामयिक राजनीतिक विषयमा १५ बुँदे प्रस्ताव पनि पारित गरेको जनाएको छ।

बैठकले वर्तमान सरकारमा अनुभवहीनता देखिने गरी युवा नेतृत्वमा बनेको मन्त्रिपरिषद्को कामकारबाही अपेक्षित रूपमा परिपक्व नभएको टिप्पणी गरेको छ। कतिपय निर्णयहरू कार्यान्वयनमा जटिल देखिएको र केही निर्णय न्यायिक तहबाट उल्ट्याउनुपर्ने वा सरकार स्वयंले फिर्ता लिनुपर्ने अवस्था देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

मन्त्रीहरू नियुक्त भएको छोटो समयमै बर्खास्ती वा राजीनामाको अवस्था आउनु पनि प्रशासनिक अपरिपक्वताको संकेत भएको जसपाको मूल्यांकन छ। तथापि सरकारले सार्वजनिक गरेका नीतिगत दिशाबारे भने पार्टीले ‘शंकाको सुविधा’ राख्ने निर्णय गरेको बताइएको छ।

बैठकले भूमिहीन तथा सुकुम्वासी बस्तीमा गरिएको डोजर कारबाहीप्रति पनि असन्तुष्टि व्यक्त गरेको छ। साथै विद्यालय र विश्वविद्यालयमा रहेका विद्यार्थी संगठन संरचना खारेज गर्ने सरकारी निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जसपाका अनुसार विद्यार्थी संगठनहरूलाई निषेध होइन, नियमन र सुधारमार्फत विद्यार्थी हित, शैक्षिक वातावरण तथा सामाजिक चेतना अभिवृद्धिमा परिचालन गर्नुपर्ने आवश्यकता छ।

त्यस्तै, पार्टीले आधिकारिक ट्रेड युनियन प्रणालीको पक्षमा आफ्नो स्पष्ट धारणा राखेको छ।