काठमाडौं । दुईजना अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) मा एक पक्षले अर्कोलाई कारबाही गर्ने होडबाजी चलेको छ। अध्यक्ष उपेन्द्र यादव पक्षले शनिबार कार्यकारिणी समितिको बैठक राखेर अर्का अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोसहित चारजनालाई कारबाहीको निर्णय गरेको थियो।
त्यसको भोलिपल्ट आइतबार ठाकुर पक्षले यादव समूहका १२ जना सांसदलाई कारबाहीको निर्णय गरेको छ। यो कारबाहीमा यादव पनि परेका छन्। कारबाहीलाई वैधता दिलाउन एकले अर्को पक्षका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका छन्। एक पक्षले गरेको निर्णयलाई अर्को पक्षले वैध नभएको दाबी गर्दै अस्वीकार गरेको छ। एक पक्षले अर्कोलाई कारबाही गर्ने प्रक्रिया सुरु भएसँगै जसपाभित्रको विवाद उत्कर्षमा पुग्दै विभाजनउन्मुख देखिएको छ ।
ठाकुर–महतो पक्षको आइतबार बसेको बैठकमा कार्यकारिणी समितिमा ठाकुर–महतो पक्षका सदस्य तथा सांसदलाई मात्रै बोलाइएको थियो। यो बैठकले शनिबार यादव पक्षले गरेको कारबाही निर्णय नमान्ने निर्णय गरेको छ। ठाकुर–महतो पक्षले शनिबार पार्टी कार्यकारिणी समितिको बैठक नबसेको भन्दै समितिका नाममा यादव पक्षले गरेको कारबाहीको निर्णय अमान्य भएको जनाउसहित निर्वाचन आयोगलाई पत्रसमेत लेखेको छ।
पत्रमा यादव पक्षले गरेको निर्णयलाई मान्यता नदिन आग्रह गरिएको छ। ‘हिजो (शनिबार) पार्टीको बैठक बसेकै छैन। बैठक नै नबसेपछि कसरी कारबाही गर्ने भन्ने निर्णय हुन्छ ?’ ठाकुर पक्षका नेता शरत्सिंह भण्डारीले भने, ‘त्यसैले उहाँहरूको भनाइमा कुनै आधार र सत्यता छैन ।’ बैठकले जसपाका माग सम्बोधन गरेको भन्दै सरकारलाई धन्यवाद दिएको भण्डारीले बताए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० जेठ २०७८, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता
एसपीलाई गालीगलौज गर्ने जसपा नेता यादव विरुद्ध पक्राउ पुर्जी जारी
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको संकेत
जसपा सङ्घीय परिषद्को बैठक सुरु
आजबाट जसपाको संघीय परिषद् बैठक