दिल्लीमा राष्ट्रपति शासन लगाउन भाजपा सांसदको माग

एजेन्सी

शुक्रबार, १७ बैशाख २०७८, २१ : ३६
दिल्लीमा राष्ट्रपति शासन लगाउन भाजपा सांसदको माग

काठमाडौं । भाजपा सांसद राकेश सिन्हाले अरविन्द केजरीवाल सरकारले जनतालाई असुरक्षित छोडेको आरोप लगाउँदै दिल्लीमा राष्ट्रपति शासन लागू गर्नुपर्ने बताउनुभएको छ । 

राज्यसभाका सदस्य तथा भाजपा नेता सिन्हले एक ट्वीटरमा लेखेको सन्देशमा भनिएको छ, “दिल्ली गम्भीर सङ्कटमा छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको राज्य सरकारले मानिसहरूलाई अनिश्चित र असुरक्षित अवस्थामा छोडेको छ । परिस्थिति बिग्रँदै गइरहेको छ ।

राजधानीको अवस्थाले सम्पूर्ण विश्वलाई भारतबारे गलत सन्देश पठाउँदछ त्यसैले केन्द्रले राष्ट्रपति शासनमार्फत् दिल्लीलाई प्रत्यक्ष हेर्नुपर्छ । 

आम आदमी पार्टी (आप) का नेता तथा मुख्यमन्त्री केजरीवालले दुई दिन पहिले दिल्लीमा देखिएको स्वास्थ्य सङ्कटलाई कम गर्न चाहिने अक्सिजनको अभावलाई विदेशबाट अक्सिजन मगाएर ल्याइन लागेको बताउनुभएको थियो । 

आप पार्टीकै एक विधायक शोएब इकबालले पनि शुक्रबार कोभिड–१९ सङ्क्रमणका कारण दिल्लीका जनतामा बढेको असुरक्षालाई मध्यनजर राख्दै  दिल्लीमा राष्ट्रपति शासन लागू गर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभएको थियो । 

कांग्रेस छोडेर गत बर्ष दिल्ली विधानसभा चुनावमा आपको टिकटमा लडेका मटिया महलका विधायकले न त आफू न सरकार कसैले पनि कोभिड– १९ को दोस्रो लहरबाट प्रभावित मानिसहरूलाई सहयोग गर्न नसकेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस