‘अनुसन्धान र आविष्कार कागजमा मात्र सीमित हुनु हुँदैन’ : महावीर पुन

सफल खबर संवाददाता

विहीबार, ०४ असार २०८३, १५ : ०९
‘अनुसन्धान र आविष्कार कागजमा मात्र सीमित हुनु हुँदैन’ : महावीर पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले वर्तमान सरकारको मुख्य उद्देश्य सूचना प्रविधि क्षेत्रको तीव्र विकास र बढीभन्दा बढी उपयोग गर्नु रहेको बताएका छन् । 

बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । 

 मन्त्री पुनले कृत्रिम बौद्धिकता र सूचना प्रविधिको विकासमा जोड दिएर त्यसलाई व्यावहारिक प्रयोगमा ल्याउन प्रधानमन्त्री वालेन्द्र शाहले विशेष चासो दिएको उल्लेख गरे । 

अनुसन्धान, रिसर्च र नवप्रवर्तनका कार्य कागजमा लेखेर शोधपत्र प्रकाशन गर्ने विषय मात्रै नभएकाले सरकारले यसको व्यावहारिक उपयोगमा जोड दिने नीति लिएको उनले स्पष्ट पारे । 

मन्त्री पुनले भने, “अहिलेको सरकारको मुख्य उद्देश्य एआई र आईटीको अधिकतम विकास गरी देशलाई अगाडि बढाउने नै हो । त्यसैले प्रधानमन्त्रीज्यूले यसअघि सञ्चार मन्त्रालयमा रहेको आईटी सम्बन्धी सम्पूर्ण जिम्मेवारी अहिले आफू मातहत ल्याउनुभएको छ । यो कार्य प्रधानमन्त्री एक्लैले गर्ने नभई हामी सबै मिलेर फत्ते गर्नुपर्ने राष्ट्रिय दायित्व हो ।”

नवप्रवर्तन र आविष्कारका नयाँ उपलब्धिहरूलाई उद्योगहरूले उपभोग गर्न पाउनुपर्नेमा जोड दिँदै उनले थपे, “कसैले नयाँ प्रविधिको आविष्कार गर्छ भने त्यसको लाभ उद्योगहरूले पाउनुपर्छ । अनुसन्धान र नवप्रवर्तन भनेको कागजमा सीमित राख्नका लागि होइन, उद्योगधन्दाको विकासका लागि हो । तर, अहिले यस पक्षमा पर्याप्त ध्यान दिन सकिएको छैन र सूचना प्रविधिको प्रयोगबाट उद्योगहरूको प्रवर्द्धन हुन्छ भन्ने कुरा स्वयम् उद्योगपतिहरूलाई समेत राम्ररी थाहा छैन ।”

प्रतिक्रिया दिनुहोस