सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी

सफल खबर संवाददाता

बुधबार, ०३ असार २०८३, १६ : २२
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी

काठमाडौँ । लगातार चार कारोबार दिन ओरालो लागेको नेपालको सेयर बजार बुधबार भने सामान्य सुधारसहित स्थिर अवस्थामा बन्द भएको छ । नेप्से परिसूचकमा झिनो वृद्धि देखिए पनि बजार अघिल्लो दिनकै विन्दु आसपास कायम रहेको छ ।

बुधबार नेप्से ०.०८ अंकले मात्र बढेर २७०५ विन्दुमा रोकिएको हो । पछिल्ला दिनहरूमा निरन्तर दबाबमा रहेको बजारमा यस दिन ठुलो उतारचढाव देखिएन ।

यसअघि मंगलबार नेप्से ६ अंक, सोमबार १२ अंक, शुक्रबार ४ अंक र बिहीबार ८ अंकले घटेको थियो । चार दिनको गिरावटपछि लगानीकर्ताको गतिविधि तुलनात्मक रूपमा संयमित देखिएको हो ।

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । मंगलबार ४ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार कुल कारोबार ३ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको छ ।

बुधबार कारोबार भएका कम्पनीमध्ये १२० वटाको सेयर मूल्य बढेको छ भने १३५ कम्पनीको मूल्य घटेको छ । १६ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।

बजारका सबै उपसमूहमा सामान्य उतारचढाव देखिएको छ । कुनै पनि समूहगत परिसूचकमा १ प्रतिशतभन्दा बढी परिवर्तन नभएको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस