एजेन्सी । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'आई' को खेलमा स्टार स्ट्राइकर एर्लिङ हालान्डको दुई गोलको मद्दतले नर्वेले इराकलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ।
२८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेका लागि हालान्डले डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरे।
अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको उक्त खेलमा नर्वेले २९ औं मिनेटमा हालान्डको गोलबाट अग्रता लिएको थियो। तर, खेलको ३९ औं मिनेटमा इराकका आइमेन हुसेनले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।
यो इराकको विश्वकप इतिहासकै दोस्रो गोल थियो। इराकको खुसी धेरै समय टिक्न सकेन, खेलको ४३ औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए।
दोस्रो हाफमा नर्वेले थप दबाब सिर्जना गर्यो। खेलको ७६ औं मिनेटमा लियो ओस्टिगार्डले गोल गर्दै नर्वेको अग्रता ३-१ बनाए। खेलको इन्जुरी समयमा इराकका आइमेन हुसेनबाट आत्मघाती गोल हुन पुग्दा नर्वे ४-१ ले विजयी भयो।
यस जितसँगै नर्वे समूह 'आई' को शीर्ष स्थानमा उक्लिएको छ। यसअघि भएको सोही समूहको अर्को खेलमा फ्रान्सले सेनेगललाई ३-१ ले पराजित गरेको थियो। गोल अन्तरका आधारमा फ्रान्सलाई पछि पार्दै नर्वे तालिकाको पहिलो स्थानमा रहेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०३ असार २०८३, ०७ : ०४
लेखकबाट थप