फिफा विश्वकप २०२६

क्रोएसियामाथि इङ्गल्यान्ड ४–२ ले विजयी, कप्तान केनले बनाए कीर्तिमान

एजेन्सी

विहीबार, ०४ असार २०८३, ०७ : २७
क्रोएसियामाथि इङ्गल्यान्ड ४–२ ले विजयी, कप्तान केनले बनाए कीर्तिमान

एजेन्सी । कप्तान ह्यारी केनको दुई गोलको मद्दतले इङ्गल्यान्डले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिकाको टेक्ससस्थित डलास काउब्वयजको रंगशालामा बुधबार राति सम्पन्न रोमाञ्चक खेलमा इङ्गल्यान्डले क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

नयाँ मुख्य प्रशिक्षक थोमस टुकलको नेतृत्वमा पहिलो ठूलो प्रतियोगिता खेलिरहेको इङ्गल्यान्डका लागि केनबाहेक जुड बेलिङ्घम र वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका मार्कस रासफोर्डले एक/एक गोल गरे । क्रोएसियाका तर्फबाट मार्टिन बातुरिना र पेटार मुसाले गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

७० हजार दर्शक क्षमताको एअर–कन्डिसन्ड रंगशालामा खेलको १२ औँ मिनेटमै इङ्गल्यान्डले अग्रता लिएको थियो । क्रोएसियाका कप्तान लुका मोड्रिचले पेनाल्टी बक्समा नोनी माडुएकेलाई लडाएपछि इङ्गल्यान्डले पेनाल्टी पाएको थियो ।

केनको पहिलो प्रहार क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले रोके पनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयोगमा गोलरक्षक आफ्नो लाइनभन्दा अघि बढेको भन्दै पुनः पेनाल्टी प्रहार गर्न निर्देशन दिएका थिए । दोस्रो पटकमा केनले कुनै गल्ती नगरी टोलीलाई अग्रता दिलाए ।

खेलको ३६ औँ मिनेटमा क्रोएसियाका २३ वर्षीय मिडफिल्डर मार्टिन बातुरिनाले उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । तर, त्यसको छ मिनेटपछि नै ड्याक्लन राइसको कर्नर पासमा हेडमार्फत गोल गर्दै केनले इङ्गल्यान्डलाई पुनः २–१ को अग्रता दिलाए ।

यस गोलसँगै केनले विश्वकपमा आफ्नो व्यक्तिगत गोल संख्या १० पुर्‍याउँदै इङ्गल्यान्डका लागि ग्यारी लिनेकरको कीर्तिमानसँग बराबरी गरेका छन् । पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा क्रोएसियाका पेटार मुसाले गोल गरेपछि पहिलो हाफ २–२ को बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस