नेकपा विभाजन: आफूतिर तान्न केन्द्रीय सदस्य बनाउनेसम्मको प्रलोभन

पत्रपत्रिकाबाट

मंगलबार, ०६ माघ २०७७, ०७ : ०९
नेकपा विभाजन: आफूतिर तान्न केन्द्रीय सदस्य बनाउनेसम्मको प्रलोभन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि ओली समूह र नेपाल–दाहाल समूह एकअर्काका नेताकार्यकर्ता तान्ने रणनीतिमा लागेका छन्।

पार्टी विभाजनपछि अलमलमा परेका नेताकार्यकर्तालाई केपी शर्मा ओली र माधवकुमार नेपाल–पुष्पकमल दाहाल समूहले आआफ्नो पक्षमा ल्याउन केन्द्रदेखि नै बल प्रयोग गरिरहेका छन्।

ओली पक्षले नेताकार्यकर्तालाई आफूतिर तान्न केन्द्रीय सदस्य बनाउनेसम्मको प्रलोभन दिएको छ। नेपाल–दाहाल समूहले पनि उचित जिम्मेवारी दिने र भरसक नेताकार्यकर्तालाई ओलीतिर जान नदिने रणनीति लिएको छ।

तानातानको होड चलिरहेकै बेला ओली समूहले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका पाँच सांसदलाई आफ्नो पक्षमा ल्याएको छ। जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, कला घले र वसन्तीदेवी यादवलाई ओली समूहले आफूतिर ल्याएको छ।

ओली समूहमा फर्किएका उनीहरूले आफ्नै पार्टी नेकपाको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु उपयुक्त नभएको भन्दै हस्ताक्षर फिर्ता लिएको जनाएका छन्। यसैबीच सोमबार सोलुखुम्बू पुगेर गृहमन्त्री रामबहादुुर थापाले पूर्वमाओवादी समूहका नेताहरू महेश किराँती, शिशिर राई र श्याम क्षेत्रीलाई ओली समूहमा प्रवेश गराएका छन्।

ओली समूहको ध्यान अहिले युवा कार्यकर्तालाई आफ्नो पकडमा ल्याएर नेतृत्व दिनेतिर छ। रामेछापका पुराना तथा लोकप्रिय नेताहरू नेपाल–दाहाल समूहमा लागेपछि ओली समूहले युवा पुस्ताका दुई नेता आनन्द श्रेष्ठ र पुरुषोत्तम कडरियालाई जिम्मेवारी दिएको छ। कडरिया तत्कालीन एमालेमा नेपाल समूहमा थिए। नगरिक दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस