ट्रम्पको दाबी : दोहामा आज अमेरिका-ईरान वार्ता हुने

एजेन्सी

मंगलबार, १६ असार २०८३, १० : ४५
ट्रम्पको दाबी : दोहामा आज अमेरिका-ईरान वार्ता हुने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको राजधानी दोहामा मंगलबार अमेरिका र ईरानबीच महत्त्वपूर्ण वार्ता हुन लागेको दाबी गरेका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले ईरान आफैँले बैठकका लागि अनुरोध गरेको बताएका हुन्।

ट्रम्पले वार्ताका लागि आफ्ना विशेष दूत स्टिभ विटकफ दोहा प्रस्थान गरिसकेको जानकारी दिँदै यो वार्ता महत्त्वपूर्ण हुन पनि सक्ने र नहुन पनि सक्ने टिप्पणी गरे। ह्वाइट हाउसमा उनले भने, 'उनीहरू कतार जाँदै छन्। सायद उनीहरू निस्किसके वा निस्किने तरखरमा छन्। हेरौँ यो वार्ता कसरी अगाडि बढ्छ।'

अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्पका ज्वाइँ जेरेड कुशनर पनि यो टोलीमा छन् या छैनन् भन्ने कुरा भने स्पष्ट पारिएको छैन। राष्ट्रपति ट्रम्पले सैन्य मोर्चामा अमेरिका निकै बलियो स्थितिमा रहेको दाबी गर्दै ईरानलाई परमाणु हतियार बनाउनबाट रोक्नु र उसको परमाणु कार्यक्रम समाप्त पार्नु अमेरिकाको मुख्य उद्देश्य रहेको बताए। उनले गत जुन १७ मा दुई देशबिच भएको समझदारी पत्रलाई अगाडि बढाउने विषयमा दोहामा छलफल हुने उल्लेख गरे।

अर्कोतर्फ, ईरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति ट्रम्पको दाबीलाई ठाडै खारेज गरिदिएको छ। मन्त्रालयले अमेरिकासँग कुनै पनि स्तरमा राजनीतिक वार्ता तय नभएको स्पष्ट पारेको छ।

ईरानी विदेश मन्त्रालयका अनुसार तेहरानले कतारमा केवल एउटा प्राविधिक विज्ञ (एक्सपर्ट) प्रतिनिधिमण्डल मात्र पठाउन लागेको हो। उक्त टोलीले जुन १७ को समझदारी पत्रलाई अगाडि बढाउन र कतारमा रोक्का गरिएको ईरानी सम्पत्ति फुकुवा गर्ने जस्ता विशुद्ध प्राविधिक मुद्दाहरूमा मात्र काम गर्नेछ।

ईरानले अमेरिकासँग अन्तिम सम्झौताका लागि अझै वार्ता शुरू नभएको प्रष्ट पारेको छ। ईरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले जुन १७ को समझदारी पत्रमा उल्लेख गरिएका प्रमुख सर्तहरू लागू नभएसम्म अन्तिम सम्झौताका लागि वार्ता अघि बढ्न नसक्ने बताए।

यसअघि जुन १७ मा भएको प्रारम्भिक समझदारीलाई लिएर दुवै देश आ-आफ्नो अडानमा अडिग देखिएका छन्। अमेरिकाले ईरानको परमाणु कार्यक्रमलाई मुख्य एजेन्डा बनाएको छ भने ईरानले वार्ता अघि प्रतिबन्धहरू फुकुवा र सैन्य घेराबन्दी हट्नुपर्ने सर्त राखेका कारण दोहा वार्ताको नतिजा कस्तो आउँछ भन्ने कुरा निकै चासोका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस