काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले वर्षायाम सुरु भएसँगै असार १७ गतेदेखि जिप सफारी सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ।
निकुञ्ज कार्यालय, कसराबाट प्राप्त जानकारीअनुसार वर्षायाम वन्यजन्तु तथा चराचुरुङ्गीहरूको प्रजननका लागि संवेदनशील समय भएकाले संरक्षणलाई प्राथमिकता दिँदै जिप सफारी सञ्चालन रोक्न लागिएको हो। निकुञ्जले यो व्यवस्था असोजको पहिलो सातासम्म कायम रहने जनाएको छ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार वर्षाका कारण वनभित्रका कच्ची सडक क्षतिग्रस्त हुने, साना खोला तथा खोल्सामा आकस्मिक बाढी आउने, रुख ढलेर आवागमन अवरुद्ध हुनेलगायतका जोखिम बढ्ने भएकाले पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै सेवा स्थगन गरिएको हो।
यद्यपि, निकुञ्जभित्रको जिप सफारी बन्द रहे पनि निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा सञ्चालन हुने जिप सफारी सेवामा भने असर नपर्ने जनाइएको छ।
चितवन राष्ट्रिय निकुञ्जका लागि जिप सफारी प्रमुख राजस्व स्रोतहरूमध्ये एक मानिन्छ। निकुञ्जभित्रको सेवा बन्द रहने अवधिमा अधिकांश पर्यटक मध्यवर्ती क्षेत्रका पर्यटकीय गन्तव्यतर्फ आकर्षित हुने गरेका छन्। निकुञ्ज प्रशासनले प्रत्येक वर्ष मध्य असारदेखि असोजको पहिलो सातासम्म वर्षायामका कारण जिप सफारी सेवा स्थगित गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १६ असार २०८३, १६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे
चितवन राष्ट्रिय निकुञ्जमा नेपाली पर्यटकको आकर्षण बढ्यो, विदेशी आगमनमा कमी
वन्यजन्तु संरक्षण गर्न कृत्रिम ताल निर्माण
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
चितवनका दुई हात्ती कतार पठाइँदै
वर्षे सुरक्षामा जुट्यो चितवन राष्ट्रिय निकुञ्ज