काठमाडौँ । हिजोआज झ्यापझ्याप बत्ती निभिरहन्छ । छिनको छिनमै बिजुली गएर नागरिकलाई हैरान पारे पनि सरकारले यसलाई ‘लोडसेडिङ’ नाम दिइसकेको छैन । बेला न कुबेला बिजुली जानुको खास कारण के हो त भनेर प्रधानमन्त्री कार्यालयले सोमबार सरोकारवालासँग छलफल चलायो, समस्याको समाधान खोज्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन पनि दियो ।
प्रधानमन्त्री कार्यालयको छिमेकमा रहेको ऊर्जा मन्त्रालयमा भने साताभन्दा धेरै भयो, मन्त्री पुगेकै छैनन् । सोमबार बेलुकी पोखरामा रहेका ऊर्जामन्त्री टोपबहादुर रायमाझीले कान्तिपुरसँग अर्घाखाँचीदेखि बुटवल, नवलपरासीदेखि तनहुँ हुँदै पोखरासम्मको यात्रा वृत्तान्त सुनाए र भने, ‘के गर्नु १ विशिष्ट परिस्थिति छ, पार्टीको काममा पनि जुट्नैपर्यो, सरकारको काम पनि गर्नैपर्यो ।’ उनले अहिले आफूहरूको प्राथमिकता चुनावमा एक्लै दुई तिहाइ ल्याउने भएकाले त्यतैतिर केन्द्रित भएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैतदेखि सिंहदरबारमा पाइला टेकेका छैनन् । उनको कार्यकक्षमा छिर्ने ढोका बाहिरैदेखि ड्याम्मै बन्द छ । ओली कहिले सिंहदरबार आउँछन् भन्ने थाहा पनि छैन । प्रधानमन्त्री ओलीको कार्यकालको यो तीन वर्षमा उनको नेतृत्वमा हुनुपर्ने झन्डै ८० प्रतिशत काम बालुवाटारबाटै भइरहेको छ । उनको प्रतिकूल स्वास्थ्य अवस्थाका कारण पनि बालुवाटारमा हुने बैठकहरू उतिसारो सार्वजनिक बहसको विषय बनेका थिएनन् । तर पार्टी विभाजनपछि देखिएको अत्यधिक सक्रियताले भने सडकमा जान सक्ने ओली सिंहदरबार किन जान सकेनन् भन्ने प्रश्न उब्जाएको छ । उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली गत जेठमै तन्दुरुस्त भइसकेका छन् ।
त्यसैले पनि अहिले बालुवाटार, सिंहदरबार र सडक सबैतिर ओली नेकपाको वर्चस्वजस्तो देखिन्छ, अधिकांश कार्यक्रममा उनी प्रमुख वक्ताका रूपमा प्रकट भइरहेका छन् । पछिल्ला दिनमा सुदूरपश्चिमको धनगढीदेखि काठमाडौंको प्रज्ञा भवन र पार्टी प्यालेससम्मका कार्यक्रममा ओलीले मञ्चमै उभिएर घण्टौं भाषण गरे । यसले सरकारको काम कम र पार्टी काममा बढी केन्द्रित हुन नयाँ पुराना सबै मन्त्रीलाई प्रोत्साहन गरेको छ । त्यसैले उनीहरू जिल्ला–जिल्लामा दौडिएका छन् । ‘सरकारमा पनि हामी, सडकमा पनि हामी, हामी पो आन्दोलनकारीझैं देखियौं त,’ मन्त्री रायमाझी भन्दैथिए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २८ पुस २०७७, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे शीतल निवासमा : गृहमन्त्री अर्यालको नाममा विवाद
तीन मन्त्रीको शपथ आज
गौहत्या गर्न पाउनुपर्ने माग राखेर रिट हाल्ने व्यक्ति सुशीलाको कार्कीको प्रस्तावित मन्त्री
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता
झन्डै एक महिनासम्म पनि नाउपाका मन्त्रीको राजीनामा स्वीकृत भएन