काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत महत्वकाङ्क्षा छाडेर देश बनाउने अभियानमा लाग्नेका लागि आफूले नेतृत्व गरेको नेकपामा अझै ठाउँ रहेको बताउनुभएको छ ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आज यहाँ आयोजना गरेको बृहत् भेलामा उहाँले महत्वाकाङ्क्षी प्रवृत्ति छाडेर देश बनाउने अभियानमा संलग्न हुन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “अर्का अध्यक्ष, वरिष्ठ नेताहरु सबैको कुर्सी यथावत् छन् । पार्टीका बैठकमा सहभागी नभए पनि देश बनाउने अभियान अघि बढ्न आग्रह गर्दछु ।” आफूले पार्टी र देशका हितमा काम गर्दागर्दै पनि त्यसको विषयमा कहिले नबोलेर हटाउने प्रयास निरन्तर भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
आफूले नाकाबन्दीको सामना गरेको र गुमेको भूमि फिर्ता गर्नका लागि संविधान संशोधन गरेको उहाँले बताउनुभयो । यही सरकारले नै चीनसँग नाका खोलेको र भारतसँगको सम्बन्ध माथि उठाएको प्रधानमन्त्री ओलीले बताउनुभयो । पहिलो महिला राष्ट्रपति तथा लोकतन्त्रको लडाइँबाट आएको व्यक्तिको इज्जतमाथि धावा बोल्दा पनि नेताले मन्दमुस्कानसहित ¥यालीमा सहभागी भएको उहाँको भनाइ छ । गत वैशाखदेखि पुससम्ममा आफ्नो विरुद्धमा ३१५ पटक बैठक बसेको पाइएको, तीमध्ये २८० बैठक खुमलटार, ३५ कोटेश्वर र अरू होटेलमा बसेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले परिचयपत्र देखाएरभन्दा व्यवहार र बोलीबाट अनेरास्ववियु चिनिनुपर्नेमा जोड दिनुभयो । गाडीमा ज्येष्ठ नागरिकलाई सिट छाड्ने, सबै जात र वर्गलाई सम्मान गरेर आफूलाई चिनाउन उहाँले अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईंलाई अरू सबैले हेर्दा मीठो बोली, आकर्षक व्यवहार, देशभक्तिको भावना र राष्ट्रवादी चिन्तनबाट चिन्नुपर्छ ।”
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पूर्वमाओवादी एक हुन प्रचण्डले अनुरोध गरेको भन्दै त्यो अवस्थामा पूर्व एमालेलाई पनि फिर्ता पठाउन आग्रह गर्नुभएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले जनताले राजीनामा मागेको भए दिनुपर्ने तर दुईचारजना नेताले माग्दैमा दिनु नपर्ने बताउनुभयो । उहाँले सरकारले राष्ट्रियता, समृद्धि र विकासका पक्षमा काम गरिरहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष मात्रै नेपाल अतिकम विकसित देशको सूचीबाट निम्न मध्यम आय भएको देशको सूचीमा उक्लिएको छ ।”
संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री भानुभक्त ढकालले प्रचण्ड र माधव नेपाललगायत नेता निर्वाचनमा जान डराइरहेको आरोप लगाउनुभयो ।अनेरास्ववियुका अध्यक्ष ऐन सिंह महरले प्रधानमन्त्री ओलीले जबजब राष्ट्रियताको कुरा उठाउँदा उहाँमाथि प्रहार हुने गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १९ पुस २०७७, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत