ओली र दाहालबिच फोनवार्ता

पत्रपत्रिकाबाट

विहीबार, १६ पुस २०७७, ०७ : ४८
ओली र दाहालबिच फोनवार्ता

काठमाडौँ । विभाजित भएर सत्ता र सडकमा बाँडिएपछि नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार पहिलोपल्ट फोनमा कुराकानी भएको छ । प्रधानमन्त्री ओलीले दाहाल–पत्नी सीताको स्वास्थ्यस्थिति बुझ्न र स्वास्थ्यलाभको कामना गर्न साँझ फोन गरेका हुन् ।

लामो समयदेखि प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पीएसपी० को बिरामी दाहाल–पत्नीलाई बुधबार बिहान ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । कार्की ब्यांकेटमा सुदूरपश्चिमका नेता–कार्यकर्ताको भेलालाई सम्बोधन गरेपछि ओली बालुवाटार फर्किएका थिए । उनलाई बालुवाटारमै पुगेका पार्टी महासचिव विष्णु पौडेल र सुवास नेम्वाङले दाहाल–पत्नीलाई अस्पताल भर्ना गरिएको जानकारी दिएका थिए । उनीहरूकै सुझावअनुसार ओलीले दाहाललाई फोन गरेर सन्चोबिसन्चो सोधेका थिए ।

‘उहाँहरूका बीचमा त्यति धेरै लामो कुरा भएन, सन्चोबिसन्चो सोधपुछ भयो, सीताजीको स्वास्थ्यबारे प्रधानमन्त्रीज्यूले जानकारी लिनुभयो,’ नेम्वाङले कान्तिपुरसँग भने, ‘त्यसपछि प्रधानमन्त्रीजीले म यहींबाट स्वास्थ्यलाभको कामना गर्छु, मेरोतर्फबाट शुभकामना दिनका लागि विष्णुजी र सुवासजीलाई अस्पताल पठाउँछु भन्नुभयो, हामी गएर आयौं ।’

नेम्वाङले प्रधानमन्त्री र दाहालबीचको फोन संवादमा र आफूहरूको भेटमा अरू विषयमा कुराकानी नभएको बताए । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपाका अध्यक्षद्वय सत्ता र सडकमा विभाजित भएर एकअर्काका विरुद्ध खरो उत्रँदै आएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।