‘ओली नसच्चिए आन्दोलनको आँधीबहेरी’

पत्रपत्रिकाबाट

बुधबार, १५ पुस २०७७, ०७ : ५०
‘ओली नसच्चिए आन्दोलनको आँधीबहेरी’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेर मुलुकमा प्रतिक्रान्ति र प्रतिगमन निम्त्याएको आरोप नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले लगाएको छ। दाहाल–नेपाल समूहले मंगलबार राजधानीलगायत देशका विभिन्न भागमा ओलीको उक्त कदमविरुद्ध प्रदर्शन गर्दै यस्तो आरोप लगाएको हो। दाहाल–नेपाल समूहले प्रतिनिधिसभा पुनस्र्थापनाको माग राखेको छ।  

विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरूले संविधानको मर्म र भावनाविपरीत प्रधानमन्त्री ओलीले तत्कालीन राजा ज्ञानेन्द्रकै शैलीमा प्रतिगामी कदम चालेको भन्दै प्रतिनिधिसभा विघटनको कदम नसच्याए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका छन्। प्रतिगामी कदम सच्याएरै छाड्ने ठोकुवा गर्दै दाहाल–नेपाल पक्षले त्यसका लागि तयार रहन ओलीलाई चुनौती दिएको छ। ‘जेजे गर्न सक्छौं गर, हामी अन्तिम समयसम्म पनि छाड्दैनौं,’ काठमाडौंको भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालले भने, ‘वैशाखपछि ओली प्रधानमन्त्री पनि रहँदैनन्। नेपालको राजनीतिक इतिहासबाट तिनको पत्तासाफ हुनेबाला छ।’

ओलीलाई श्री ३ महाराजाधिराज बन्ने सपना नदेख्न दाहालले सचेत गराए। पार्टीले अहिले सुरु गरेको आन्दोलन सुरुवात मात्रै भएको धारणा राख्दै दाहालले कामचलाउ सरकारका प्रधानमन्त्रीले प्रतिगामी कदमलाई समयमै नसच्याए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावन दिए। तत्कालीन एमालेका महासचिव मदनकुमार भण्डारीको भनाइ उद्धृत गर्दै दाहालले भने, ‘यो भत्कौरो मात्र हो। बाजा बजाएर जन्ती आउन बाँकी नै छ।’

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन जीवन र मरणको सबाल भएको बताउँदै दाहालले निर्मम संघर्षका लागि तयार हुन कार्यकर्ता र जनतालाई अपिल गरे। यति छिट्टै प्रतिगमनविरुद्ध लड्नुपर्ला भन्ने आफूलाई नलागेको दाहालले बताए। ओलीबाट संविधान र लोकतन्त्रविरुद्ध कठोर प्रहार भएको बताउँदै उनले आन्दोलनका पक्षमा लाग्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे।  

नेकपा गठनपूर्व दुई पार्टीबीच गठबन्धन भएर निर्वाचनमा जाँदा जनताले समाजवादको आधार तयार हुने ठानेर झन्डै दुई तिहाइ मत दिए पनि नेकपाकै प्रधानमन्त्रीले जनमतको अपहेलना गरेको उनले बताए। उनले प्रधानमन्त्री ओली बयलगाडा र परिवर्तन विरोधी हुन् भन्ने थाहा हुँदाहुँदै पनि सच्चिने विश्वासमा एकता गरेको तर उनी बयलगाडाभन्दा माथि उठ्न नसकेको बताए।

दाहालले ओलीमाथि कम्युनिस्ट विचार र आदर्शबाट स्खलित भएको आरोप पनि लगाए। ओलीले निरंकुश तानाशाह बनेर देशलाई भड्खालोमा हाल्न खोजेको टिप्णी गर्दै दाहालले यसलाई सफल हुन नदिने बताए। दाहालले ओलीले प्रतिनिधिसभा भंग गरेको नभई सरकार विघटन गरेको बताए। ओलीले संविधानको बलात्कार गरेर कलंकको टीका लगाएको दाहालको भनाइ थियो। नागरिक दैनिकमा खबर छ ।