काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम सडकको बलले मात्रै सच्याउन सकिने तर्क गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसलाई विरोधमा उत्रन आह्वान गरेको छ ।
प्रतिनिधिसभा विघटनको विरोधमा जसपाले सुरु गरेको पहिलो चरणको कार्यक्रमको अन्तिम दिन आइतबार राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेताहरूले कांग्रेसका लागि पनि सडक नै विकल्प रहेको बताए ।
प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी
प्रतिनिधिसभा पुनःस्थापना हुन नदिने र निर्वाचनसमेत नगराउने बाटामा प्रधानमन्त्री ओली अघि बढिरहेको जनाउँदै उनीहरूले कांग्रेस नेतृत्वलाई ढुलमुले नीति नलिन आग्रह गरेका छन् । जसपाले आइतबार संघीय राजधानीलगायत देशका मुख्य सहरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गर्दै विरोध प्रदर्शन र सभा गरेको थियो ।
काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा भएको संयुक्त विरोधसभामा नेताले प्रतिनिधिसभा विघटन गरिएको पुस ५ गतेलाई कालो दिनका रूपमा मनाउनुपर्ने बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेताद्वय अशोक राई र राजेन्द्र महतोले पूर्वराजा ज्ञानेन्द्र शाहकै दोस्र्रो संस्करणका रूपमा प्रधानमन्त्री ओलीले संविधानमाथि ‘कु’ गर्दै प्रतिगमन भित्र्याएको टिप्पणी गरे । प्रतिगामी कदम सडकको बलबाट मात्रै सच्याउन सकिने उनीहरूको साझा मत थियो ।
प्रधानमन्त्री ओलीले यसअघिदेखि नै राज्य संयन्त्र र संस्थाहरू कब्जा गर्दै आएको उल्लेख गर्दै भट्टराईले अदालतबाट असंवैधानिक कदम सच्चिनेमा आफूलाई झिनो आशा मात्रै रहेको बताए । ‘न्यायाधीशप्रति सम्मान छ तर ओलीले सबै संस्थामा आफ्नो खल्तीबाट मान्छे लगेर राखेकाले धेरै आशा गर्ने ठाउँ छैन,’ उनले भने, ‘त्यसैले पनि सडक आन्दोलनको विकल्प छैन ।’ कांग्रेस नेतृत्वले सडकमा जाने कि नजाने भन्नेमा ढुलमुले नीति लिइरहेका बेला नेता भट्टराईले ओलीले घोषणा गरेको चुनाव हुने र ठूलो दल बन्ने विश्वासमा नपर्न सुझाए ।
ओलीले निर्वाचनका लागि प्रतिनिधिसभा विघटन नगराएको दाबी उनको थियो । ‘चुनाव गर्ने नाममा ओलीले विषको भाँडामाथि अमृत देखाएका छन् । अमृतलाई हेरेर कांग्रेस नलोभियोस् । राजा ज्ञानेन्द्रले पनि चुनाव घोषणा गरेका थिए तर हामी गएनौं,’ उनले भने, ‘ढुलमुले पाराले ओलीबाट सत्ता झर्ला र खाउँला भन्ने कांग्रेसले नसोचे पनि हुन्छ ।’कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १३ पुस २०७७, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता
एसपीलाई गालीगलौज गर्ने जसपा नेता यादव विरुद्ध पक्राउ पुर्जी जारी
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको संकेत