नेकपा विभाजनको असर : कांग्रेस जता, प्रदेश सरकार त्यतै

पत्रपत्रिकाबाट

शनिबार, ११ पुस २०७७, ०८ : १२
नेकपा विभाजनको असर : कांग्रेस जता, प्रदेश सरकार त्यतै

काठमाडौं । संघीय सरकारको नेतृत्व गरिरहेको दल नेकपामा भएको विभाजनको असर प्रदेशमा देखिन थालेको छ। नेकपाले नै नेतृत्वको गरिरहेका ६ प्रदेशमध्ये अधिकांशमा सरकार टिकाउन र नयाँ बनाउन कांग्रेसको साथ चाहिने देखिएको छ। कांग्रेसले समर्थन नगरे कतिपयमा परिस्थिति जटिल बन्ने अवस्था छ।

प्रदेश १ मा अहिलेको समीकरणअनुसार दाहाल–नेपाल पक्ष एक्लैको बहुमत पुग्न सक्ने देखिन्छ। त्यो अवस्थामा सरकार परिवर्तन हुनेछ। बागमती प्रदेशमा त अविश्वासको प्रस्ताव नै दर्ता भएको छ। यहाँ कांग्रेसको साथ जसलाई हुन्छ उसले नै सरकार बनाउनेछ। गण्डकी र लुम्बिनीमा ओली पक्ष, कर्णाली र सुदूरपश्चिममा दाहाल–नेपाल पक्ष बलियो देखिए पनि अन्य राजनीतिक दलको साथबिना सरकार टिकाउन र नयाँ बनाउन गाह्रो देखिन्छ।  प्रदेश २ मा भने नेकपा प्रतिपक्षमा रहेका कारण त्यहाँ सरकार फेरबदल हुने देखिएको छैन।

बागमतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको छ। सत्तारुढ नेकपाकै दाहाल–नेपाल समूहका ४५ सांसदले हस्ताक्षर गरी शुक्रबार बिहान ११ः२५ बजे अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। उनीहरूले मुख्यमन्त्री पौडेललाई पदमुक्त गर्न माग गर्दै नेपालको संविधानको धारा १८८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदका लागि प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेका छन्। उनीहरूले तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेका छन्।

‘नेपालको संविधानको धारा १८८ को उपधारा ४ तथा नेकपा बागमती प्रदेशसभा दलको विधान २०७५ को धारा २८ बमोजिम हामी तपसिल बमोजिमका बागमती प्रदेश सभाका सदस्यहरूले माननीय मुख्यमन्त्री डोरमणि पौडेलमाथिको विश्वास छैन भनी अविश्वासको प्रस्ताव पेस गर्ने प्रयोजनका लागि नेपालको संविधानको धारा १८३ को उपधारा ३ अनुसार तत्काल प्रदेशसभाको बैठक बोलाउन अनुरोध गर्दछौं’, प्रदेशसभामा दर्ता गराएको पत्रमा भनिएको छ।

१ सय १० सदस्य रहेको बागमती प्रदेशसभामा नेकपाका ८० जना छन्  । यीमध्ये ३४ जना प्रधानमन्त्री केपी शर्मा ओलीनिकट छन्। ओलीनिकट रहे पनि प्रदेशसभा सदस्य केशव स्थापित उनका विपक्षमा देखिएका छन्। ४६ जना पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका छन्। त्यसमा पनि दाहालनिकट २३ र नेपालनिकट २३ जना छन्। यस्तै, कांग्रेसका २२, राप्रपाका २, विवेकशील साझाका ३, नेपाल मजदुर किसान पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन्। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस