काठमाडौँ । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र प्रतिगामी षड्यन्त्र भन्दै त्यसविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले सडक आन्दोलनमा उत्रिने घोषणा गरेको छ । केन्द्रीय कमिटीको बिहीबारको बैठकले पहिलो चरणको कार्यक्रमअन्तर्गत आउँदो १४ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।
आन्दोलन परिचालन कमिटीको संयोजकमा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई तोकिएको छ । उनको नेतृत्वमा २ हजार ५ सय १ सदस्यीय केन्द्रीय आन्दोलन परिचालन कमिटी हुनेछ ।
बैठकले शुक्रबार बिहान साढे ९ बजे माइतीघरमा केन्द्रीय सदस्य र सांसदहरूको उपस्थितिमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यसपछि १२ बजे उक्त समूह आफ्नो आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुग्नेछ । आफ्नो पक्ष बहुमतमा रहेको यसअघि नै जानकारी गराएको दाहाल–नेपाल समूह त्यसविरुद्ध षड्यन्त्र नहोस् भनेर दबाब दिन आयोग जान लागेको हो ।
देशभर आन्दोलन परिचालन र पार्टीका गतिविधि सक्रिय पार्न केन्द्रीय कमिटी बैठकले प्रदेश, जिल्ला र वडास्तरसम्मका भेला आयोजना गर्ने निर्णय गरेको छ । निर्णयअनुसार पुस ११ गते काठमाडौंमा सबै प्रदेशहरूको समन्वयात्मक बैठक हुनेछ । उक्त बैठकले १४ गतेको प्रदर्शनको तयारी र तल्लो निकायसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबारे कार्यकर्तालाई प्रशिक्षित गर्नेलगायत रणनीति तय गर्नेछ । बैठकले आउँदो २० गतेसम्म सबै प्रदेश र गाउँपालिकास्तरका भेला सम्पन्न गरिसक्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । त्यस्तै २५ गतेसम्म वडास्तरका भेला आयोजना हुने छन् ।
पार्टीका जनवर्गीय संगठन र मोर्चाको भेला आउँदो १४ गतेको प्रदर्शनअघि नै गरिसक्ने बैठकले निर्णय गरेको छ । पहिलो चरणको विरोधको यो अवधिमा स्थानीयस्तरमा पनि पार्टी कमिटीहरूले आ–आफ्नो ढंगले विरोधका कार्यक्रम आयोजना गर्न सक्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनका अनुसार पहिलो चरणको आन्दोलनपछि अझ कडा कार्यक्रमसहित दोस्रो चरण घोषणा हुनेछ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १० पुस २०७७, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?