ओली–दाहाल अब एक्लै सम्वादमा नबस्ने, दूत मार्फत भेटघाट

बुधबार दुई अध्यक्षका बीचमा भएको भेटवार्ता झन तिक्त भएपछि प्रचण्ड र ओलीले अब एक्लाएक्लै भेटवार्ता नगर्ने, सम्वाद गर्नेपर्ने भए दूतमार्फत गर्ने भएका छन्

सफल खबर संवाददाता

शुक्रबार, २६ मंसिर २०७७, ०८ : ०७
ओली–दाहाल अब एक्लै सम्वादमा नबस्ने, दूत मार्फत भेटघाट

काठमाडौं । सत्तारुढ दल नेकपाका दुई अध्यक्षको शक्ति संर्घष चुलिदै गर्दा अब दुवै नेता एक्लाएक्लै सम्वादमा नबस्ने भएका छन् । बुधबार झण्डै साढे एक घण्टा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता गरेका अध्यक्षद्दय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड) का बीचमा झन् विवाद बढेपछि दुवै नेताले एक्लाएक्लै नभेट्ने भन्दै छलफल टुंग्याएका थिए । 

छलफलमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले वरिष्ठ नेता माधव नेपालप्रति टिप्पणी गर्दै माधव नेपाल धोकेबाज भएको र उनले जुनकुनै बेला पनि जसलाई पनि धोका दिन सक्ने भन्दै अध्यक्ष प्रचण्डसँग मिलेर जान प्रस्ताव गरेका थिए । तर प्रचण्डले माधव नेपालले भन्दा ओलीले नै धोका दिएको र नेपाल कस्ता नेता हुन् भन्नेमा आफुलाई अन्य नेताले चिनाईरहनु नपर्ने बताएका थिए । प्रचण्डले ब्यक्तिहरुका विषयमा अनावश्यक टिप्पणी गरेर लडाउने र भिडाउने काम नगर्न ओलीसँग आग्रह गरेपछि दुई नेताका बीचमा केही बेर भनाभन चलेको थियो ।

बुधबारको ओलीसँगको छलफलको ब्रिफिङ बिहीवार बाग्मती प्रदेश अन्र्तगतका जिल्लाका इन्चार्ज, अध्यक्ष र सचिवहरुको पेरिसडाँडामा भएको भेलामा प्रचण्डले गरेका थिए । एक्लाएक्लै भेटवार्ता गर्दा नेताहरुका बीचमा अविश्वास र भ्रम छर्ने गरी बालुवाटारमा रहेका ओलीका सल्लाहकारहरुले आफु निकट सञ्चारमाध्यमबाट प्रचार गर्ने र विवाद झन चर्किने मात्र देखेपछि छलफलबाट उठने क्रममा प्रचण्डले अब प्रधानमन्त्रीसँग एक्लाएक्लै नभेट्ने बताएका थिए ।

‘अब तपाई र म यसरी एक्लाएक्लै नभेटौं, यसरी भेट्दा झन विवाद मात्र बल्झिने काम भयो, भेट्नै परे आवश्यकताका आधारमा अन्य नेताहरुमार्फत पनि छलफल गर्न सकिन्छ, अन्य नेताहरुलाई पनि साथमा राखेर छलफल गर्न सकिन्छ, यो दुई अध्यक्षको मात्र समस्या पनि होइन, यो पार्टीभित्रकै समस्या हो । एक्लै अब भेट गर्न म तयार छैन,’ प्रचण्डले ओलीसँग बुधबारको छलफलमा उठ्ने बेला बताएका थिए । प्रचण्डको त्यस्तो प्रस्ताव पछि प्रधानमन्त्री ओलीले पनि ‘लौ ठिकै छ, अन्य नेताहरुसँगै भेटौं, या अन्य नेताहरुवाटै कुराहरु आदान प्रदान गरौला, केही छैन’ भन्ने जवाफ फर्काएका थिए ।

प्रचण्डले वाग्मती प्रदेशका पार्टी नेताहरुलाई अब प्रधानमन्त्रीसँग एक्लै भेटघाट नहुने कुराको पनि जानकारी गराएका थिए । बिहीबार प्रचण्ड र वरिष्ठ नेता नेपालले वाग्मती प्रदेशका १३ जिल्लाकै आफु निकटका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवलाई पार्टी भित्रको पछिल्लो आन्तरिक समस्याका बारेमा जानकारी गराएका थिए ।

त्यसक्रममा नेताहरुले ओलीले आफुहरुबीच फुट पार्न खोजेपनि एकता नटुट्ने र यो विचार समुहकै रुपमा संगठित भईसकेको बताएका थिए । नेकपाको २१ गते बसेको स्थायी समिति बैठकले आवश्यक मात्रामा पार्टीभित्र सहमतिको खोजी गर्न औपचारिक अनौपचारिक सम्वादमा नेताहरुलाई बस्न आग्रह गरेको थियो । तर बुधबारको छलफल पछि दुई नेता एक्लै सम्वाद नगर्ने भन्दै झन भेटघाटलाई पातलो बनाउने गरी उठेका छन् । 

प्रचण्डसँगको सम्वादमा सुधार हुन नसकेपछि प्रधानमन्त्री ओलीले २८ गते सम्वैधानिक परिषद्को बैठक बोलाएका छन् । सम्वैधानिक अंगका रिक्त पदहरुको नियुक्तिमा छलफल गर्ने गरी ओलीले कात्तिक २८ गते बिहान ९ बजे परिषद्को बैठक बोलाएका हुन् । यो विषयमा पनि प्रधानमन्त्रीले प्रचण्डसँग कुनै राय सल्लाह र सम्वाद गरेका छैनन् । प्रधानमन्त्री ओलीले प्रचण्डसँग सम्वाद नगरी सम्वैधानिक अंगमा नियुक्तिको प्रयास गरे त्यसले झन विवाद बल्झाउने नेकपा नेताहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस