अध्यक्षद्वयले आफूलाई सुप्रिम नठाने हुन्छ : माधव नेपाल

विहीबार, २५ मंसिर २०७७, ०७ : ५५
अध्यक्षद्वयले आफूलाई सुप्रिम नठाने हुन्छ : माधव नेपाल

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीलाई विधिमा सञ्चालन गर्न र आफूलाई सुप्रिम नठान्न चेतावनी दिएका छन् । बुधबार कुराकानी गर्दै नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीलाई विधिसंगत ढंगले सञ्चालन गर्नुपर्ने र पार्टीभित्र देखिएका समस्या पार्टीको बैठकमा छलफल गरेर टुंगो लगाउनुपर्ने बताएका हुन् ।  

उनले दुवै अध्यक्षलाई आन्दोलन र परिवर्तनको नेता बन्न सुझाव दिँदै पार्टी बैठकभन्दा फरक ढंगले नउभिन चेताए । ‘पार्टीभित्र समस्या देखियो, देशव्यापीरुपमा फैलिँदो छ । समस्या कमिटीभित्र सीमित गर्न सकिएको छैन तर अहिले पनि कमिटीभित्र सीमित गर्नुपर्छ, कमिटीभन्दा पर समस्याको समाधान हुन्छ भनेर सोच्नु हुदैन’, उनले भने । उनले वर्षाबाट तर्सिने किसान, नदीबाट तर्सिने माझी, बन्दुकबाट तर्सिने सिपाहीको केही काम छैन भन्दै ओलीलाई पार्टीको बैठकबाट नभाग्न, बैठकमा आएर छलफलमा सहभागी भएर निकास निकाल्न सुझाव दिए ।

‘पार्टीभित्र सबै समस्याबारे छलफल हुनुप¥यो, कोभिडकै बारेमा छलफल गरौं, सरकारी नीतिका बारेमा छलफल गरौं । हामी आफैंलाई सर्वज्ञानी ठान्छौं, सर्वज्ञानी नठानौं । अहंकारले नै लंका दहन भएको हो’, नेपालले भने । उनले पुष्पकमल दाहालले संगठनको विषयमा धेरै जानकारी नराखेको विषय कोट्याउँदै दुवै अध्यक्षले आफूहरू सुप्रिम हो भन्ने ठानेको र त्यसले संगठनभित्र नकारात्मक असर पार्ने बताए । ‘प्रचण्डजीले आन्दोलन त हाँक्नुभयो तर संगठनसम्बन्धी विषय भने ग्याप भयो’, उनले भने ।

आफूले कुनै पनि पद नमागेको स्पष्टीकरण दिँदै नेपालले प्रधानमन्त्री वा अरु जेजे अफर भए पनि अहिलेको लडाइँ त्यसको लागि नभएको बताए । ‘मैले प्रस्ट भनेको छु, पदको विवाद होइन, पदको हानथाप होइन, मैले पद नपाएको पनि होइन । पार्टी कसरी चलाउने रु पार्टी प्राइभेट लिमिटेडका रुपमा चलाउने, एउटा वा दुईवटा व्यक्ति मिलेर चोचोमोचो गरेर चलाउने होइन भन्दै आएको छु । यो कसैको प्राइभेट कम्पनी होइन’, नेपालले भने, ‘म देशको प्रधानमन्त्री भएँ भने वा प्रचण्डजी प्रधानमन्त्री भए पनि विवाद साम्य हुन्छ रु पार्टीको निर्णय मानिएन, पार्टीको विधि मानिएन भने विधि मिचियो भने, जनताको समस्यामा केन्द्रित भएन भने यसको अर्थ हुँदैन र इतिहासमा कोही पनि व्यक्ति निर्विकल्प हुँदैन ।’

उनले अहिलेको समस्याको जड नै प्रधानमन्त्री ओली भएको भन्दै जसले समस्या खडा गरेको हो उसैले समाधान निकाल्नुपर्ने बताए । ‘उहाँ (ओली) ले सबैको मन र भावना बुझ्नुपर्‍यो, सबैको विश्वास गुमाउनुभएको छ कि कायमै छ, त्यो विषयमा उहाँले बुझ्नुपर्‍यो’, नेपालले भने । उनले पार्टीभित्र बैठक राख्नकै लागि बिन्तीपत्र हाल्नुपर्ने अवस्था किन आयो भन्ने प्रश्नसमेत गरे ।

‘पार्टीको बैठक बोलाउनुस् भनेर हामीले बिन्तीपत्र हाल्नुपर्ने अवस्था किन आयो, उहाँले बैठक किन राख्नुभएन । बैठक बोलाउन माग गर्दा पनि उहाँको व्यवहार ठीक भएन’, नेता नेपालले ओलीप्रति लक्षित गर्दै भने ‘बैठक बोलाउने दुईपाने विषयमा जवाफ उहाँले कसरी लेख्नुभयो, त्यहींबाट पहिलो फायर उहाँले सुरु गर्नुभयो त्यसपछि प्रचण्डको १९ पाने प्रतिवेदन आएको हो ।’ नागरिक दैनिकमा खबर छ ।