विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह

सफल खबर संवाददाता

बुधबार, ०९ बैशाख २०८३, १३ : ४१
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले पछिल्लो प्रतिनिधि सभा निर्वाचनको नतिजाले समग्र कम्युनिस्ट आन्दोलनलाई आत्ममूल्यांकनतर्फ उन्मुख गराएको बताएका छन्।

पार्टी स्थापना दिवसका अवसरमा जारी शुभकामना सन्देशमार्फत उनले विगतका कमजोरीबाट पाठ सिक्दै साझा रणनीति र सहकार्यका आधारमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।

उनका अनुसार विगतमा दोहोरिएका त्रुटिहरू सच्याउने स्पष्ट योजना र आपसी समझदारीविना आन्दोलनलाई एकीकृत दिशामा लैजान कठिन हुने देखिएको छ। त्यसका लागि पुनः जनस्तरसँग जोडिँदै राजनीतिक गतिविधिलाई सशक्त बनाउने दिशामा ध्यान केन्द्रित गर्नुपर्ने उनले उल्लेख गरेका छन्।

नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि देखिँदै आएको विभाजन र पुन:एकीकरणको क्रमले अपेक्षित परिणाम दिन नसकेको स्वीकार गर्दै नेपालले हालको जनसमर्थनलाई जनअपेक्षाअनुसार रूपान्तरण गर्न नसक्दा असन्तुष्टि बढेको धारणा राखेका छन्।

साथै, आपसी सम्बन्धमा कटुता, आरोप–प्रत्यारोप र रणनीतिक प्रतिस्पर्धाले एकताको सम्भावना कमजोर बनाउने भन्दै उनले सहकार्य, संयमित अभिव्यक्ति र विश्वास निर्माणतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।