सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि

सफल खबर संवाददाता

शुक्रबार, १८ बैशाख २०८३, १४ : ५१
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारका प्रारम्भिक कामकारबाही जनहितअनुकूल नदेखिएको टिप्पणी गरेका छन्।

अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले वास्तविक सुकुमबासीको पहिचान नगरी तथा वैकल्पिक बसोबासको व्यवस्था बिना संरचना हटाउने कार्यप्रति आपत्ति जनाए।

नेपालले आवासको अधिकार नागरिकको आधारभू अधिकारसँग जोडिएको विषय भएकाले उचित प्रक्रिया, पहिचान र पुन:स्थापनाको व्यवस्था नगरी बलपूर्वक हटाउने कदम स्वीकार्य हुन नसक्ने बताए। उनका अनुसार सरकारले पछिल्ला निर्णय र कार्यशैलीमार्फत क्रमशः जनविरोधी सन्देश दिएको छ।

उनले सरकारलाई सचेत गराउन आवश्यक रहेको उल्लेख गर्दै जनताको अधिकार संकुचित हुने किसिमका कदम रोक्नुपर्ने धारणा राखे।

नेपालले सरकारको सुरुआती संकेत सकारात्मक नरहेको टिप्पणी गर्दै नीतिगत निर्णय गर्दा उद्देश्य मात्र नभई कार्यान्वयनको तरिका पनि न्यायोचित हुनुपर्ने बताए।

उनले तत्कालै आरोप-प्रत्यारोपको राजनीतिमा जान नचाहेको स्पष्ट पार्दै सरकारलाई काम गर्ने अवसर दिनुपर्ने तर जनहित विपरीत निर्णय नगर्न आग्रह गरे।