काठमाडौँ । पार्टीको आन्तरिक विवाद सल्टाउने कुनै सूत्र नभेटिइरहेका बेला गृह जिल्ला रूपन्देही पुगेका नेकपा महासचिव विष्णु पौडेलले मंगलबार बुटवलमा पत्रकारहरूसँग भने, ‘एकता भएदेखि नै अप्ठ्यारा र जटिल मोड देखिएका थिए, ती समाधान भए तर अहिलेको परिदृश्यले पृथक् समस्या सिर्जना भएको देखिन्छ । अहिले नेकपाको भविष्य साँच्चिकै कठिन मोडमा पुगेको छ ।’
अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेताको छ । पार्टी जटिल मोडमा पुगेको ठम्याइसहित विभाजन रोक्ने गरी सहमति जुटाउन नेकपाभित्र विभिन्न विकल्पमा छलफल भने चलिरहेको छ । सकेसम्म अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाललाई समेट्ने गरी शक्ति भागबन्डा गरेरै महाधिवेशनसम्म पार्टीलाई अघि बढाउने रणनीति दोस्रो तहका नेताहरूको छ । तर ओली, दाहाल र नेपाल तीनै पक्षको रणनीतिमा आफूअनुकूलको स्वार्थ देखिन्छ ।
प्रधानमन्त्री ओली र उनी पक्षधर नेताहरूको पहिलो सर्त अध्यक्ष दाहालले गत कात्तिक २८ गतेको सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्ताव फिर्ता गराउनु हो, जसलाई उनीहरूले ‘आरोपपत्र’ भन्ने गरेका छन् । केन्द्रीय सदस्य खगराज अधिकारीले दाहालको प्रस्तावले कम्युनिस्ट आन्दोलन भाँडेकाले त्यसलाई फिर्ता नगरेसम्म सहमतिको सम्भावना नरहेको बताए । ‘प्रचण्डले पार्टीको विधान, कानुन र नियम मिचेर आरोप लगाउनुभएको छ, त्यस्ता कुरा फिर्ता हुनुपर्छ,’ उनले भने, ‘कपोलकल्पित आरोपको फेहरिस्त पेस गरेर कम्युनिस्ट आन्दोलन भाँड्न सकिन्छ, जोगाउन सकिन्न । त्यसैले सहमतिको सुरुवात ती आरोप फिर्ताबाट हुनुपर्छ ।’
अध्यक्ष दाहालको उक्त प्रस्ताव फिर्ता होला भन्नेमा उनीहरू स्वयम् आश्वस्त हुन भने सकिरहेका छैनन् । पछिल्लो समय प्रस्ताव फिर्ता गराउन यो पक्षबाट पहल पनि भएको छैन । त्यसो हुँदा प्रधानमन्त्री ओलीसँग अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने या अधिकतम लचकता अपनाएर एकता कायम राख्ने दुइटा विकल्प रहन्छन् । यी दुवै विकल्प ओलीका लागि त्यति प्रिय भने होइनन् ।
त्यसमाथि ओली समूहमा अबको बाटो कसरी तय गर्ने भन्ने विषयमै मतभेद छ । ओलीलाई साथ दिएका नेताहरू नै बरु पार्टी फुटे पनि फुटोस् तर कत्ति पनि सहमति गर्नु हुन्न भन्ने र एक कदम पछाडि हटेर भए पनि सहमति जोगाउनुपर्छ भन्ने गरी दुई पक्षमा विभक्त छन् । सचिवालय सदस्य ईश्वर पोखरेलसहितको समूह बरु पार्टी विभाजन भए पनि जबज पक्षधर एक हुनुपर्ने तर्क राख्छन् ।
त्यसमा राष्ट्रपति विद्यादेवी भण्डारीको समेत साथ रहेको स्रोतको दाबी छ । तर मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरू पार्टी विभाजन नै हुने अवस्था आयो भने बरु एक कदम पछाडि हट्ने र त्यसका लागि विकल्प तयार पार्ने पक्षमा छन् । त्यसैले उनीहरूले दाहाल र नेपालपक्षीय नेताहरूसँग दुईपक्षीय र तीनपक्षीय छलफललाई तीव्रता दिएका छन् ।
यो धारणा राख्ने नेताहरूले नेपाल पक्षका नेताहरूसँग गरेको छलफलअनुसार अहिले त्यस्तै परिस्थिति आयो भने अध्यक्ष पद नेपाललाई छाड्ने र पाँच वर्षसम्म ओलीले सरकार चलाइरहने सहमति हुन सक्छ । ‘यसै पनि उहाँले महाधिवेशनपछि अध्यक्ष छाड्छु भन्नुभएकै छ,’ ओलीनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘उहाँले अध्यक्ष छाडेर सरकार चलाउँछु भन्नुभयो भने माधव कमरेडहरूको साथ हुने देख्छु ।’ कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ