सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आलोचना हुन थालेपछि आयोगको इटहरी कार्यालयले छापा मारेको हो । अख्तियारले कोरोनासँग सम्बन्धित फाइल लगेको छ ।
नगरपालिकाले कात्तिक २६ गते कोरोना रोकथाम तथा नियन्त्रणमा रु दुई करोड २१ लाख ३४ हजार खर्च भएको विवरण सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएको सो खर्च विवरणमा लाइफब्वाय साबुनको प्रतिगोटा मूल्य रु ३ हजार ८३१.४२ मा खरिद गरिएको उल्लेख भएपछि चर्को आलोचना भएको थियो । कोरोना रोकथाम तथा नियन्त्रणका नाममा नगरपालिकाले चरम आर्थिक अनियमितता गरेको भन्दै स्थानीयवासीले सूचना उपलब्ध गराउन नगरपालिकामा निवेदन नै दिएका थिए ।
नगरपालिकाले पुनः मङ्सिर ३ गते पत्रकार सम्मेलन गरी स्यानिटाइजर, साबुन, झुल, म्याट्रेस, मास्क, पञ्जालगायतका सामग्री बजार मूल्यअनुसार नै खरिद गरिएको स्पष्टीकरण दिएको थियो । शीर्षकअनुसार खर्च गरी बिल भर्पाइ राखिएको र सार्वजनिक गरिएको आय–व्यय हिसाबको ‘प्रिन्ट मिस्टेक’ भएर सञ्चारमाध्यममा भ्रामक समाचार पुगेको नगरप्रमुख आतेशकुमार सिंह यादवले स्पष्ट पारेका थिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले समेत खर्च विवरणमा ‘प्रिन्ट मिस्टेक’ भएकाले खर्च विवरण बढी देखिएको बताउँदै रु एक करोड २७ लाख २९ हजार ४२९ कोरोना शीर्षकमा खर्च भएको बताए । बोदे बर्साइन नगरपालिका कार्यालयले २०७६ चैत २२ गते ९५ वटा साबुन रु तीन लाख ६३ हजार ९८५ लागतमा खरिद गरिएको प्रमाणित खर्च विवरणमा देखाएको थियो ।
टाइप गर्दा ९५ कार्टुन लेख्नुपर्नेमा कर्मचारीको कमजोरीले ९५ वटा भएको नगरप्रमुख यादवको जिकिर छ । सार्वजनिक गरिएको हिसाबको अर्को शीर्षकमा भने साबुनको प्रतिगोटा रु २९९.९६ पैसाको दरले खरिद गरिएको उल्लेख छ । अर्को शीर्षकमा एक हजार ४४० वटा लाइफब्वाइ साबुनलाई रु चार लाख ३१ हजार ९५५ मा खरिद गरिएको हिसाब देखाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०९ मंसिर २०७७, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अख्तियारबाट २९ हजार सात सय उजुरी फर्छ्यौट
पूर्वमन्त्री राजकुमार गुप्तालाई अख्तियारमा बोलाइयो
भिजिट भिसा दुरुपयोग काण्डमा अख्तियारको ‘क्लोज इन’ : तीर्थराज भट्टराईसँग लगातार बयान, डिजिटल प्रमाण संकलन
अख्तियारले भ्रष्टाचारको मुद्दामा टेलिफोन वा सञ्चार माध्यमको विवरण लिएर अनुसन्धान गर्न पाउने
विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
नागरिक उड्डयनको नयाँ भवनमा अख्तियारको छापा