पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतद्वारा अख्तियारसँग मिसिल झिकाउने आदेश

सफल खबर संवाददाता

बुधबार, ०७ माघ २०८२, १८ : ५०
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतद्वारा अख्तियारसँग मिसिल झिकाउने आदेश

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा कारोबारमा भएको भनिएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले आवश्यक मिसिल झिकाउन आदेश दिएको छ। 

उक्त मुद्दामा नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत प्रतिवादीका रूपमा रहेका छन्।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावल सम्मिलित इजलासले मुद्दाको सुनुवाइका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्बन्धित कागजात र मिसिल पेश गर्न निर्देशन दिएको हो। मुद्दा विचाराधीन अवस्थामा रहेकाले प्रमाण तथा अभिलेखको अध्ययन आवश्यक ठहर गर्दै अदालतले यस्तो आदेश जारी गरेको जनाइएको छ।

 

माधवकुमार नेपाल प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दिएर रौतहटमा चुनावी गतिविधिमा संलग्न रहेको समयमा नै विशेष अदालतमा यस मुद्दाको पेशी तोकिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस