काठमाडौं । विभिन्न जेनजी समूह र व्यक्तिहरूको सहभागितामा गठन गरिएको ‘जेनजी मुभमेन्ट अलायन्स’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूलाई तत्काल स्वेच्छिक राजीनामा दिन आग्रह गरेको छ ।
जेनजी आन्दोलन भ्रष्ट्रचारविरुद्धको अभियान पनि रहेकोले त्यसमा सहयोग गर्न प्रमुख आयूक्तसहित सम्पूर्ण आयुक्तको राजीनामा माग गरिएको हो ।,
समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०८२ भदौ २३ गतेदेखि सुरु गरिएको हाम्रो आन्दोलनको प्रमुख उद्देश्य भ्रष्टाचार र दण्डहीनताको अन्त्य हो । तर, अख्तियारमा नेतृत्व गर्ने व्यक्तिहरूको नियुक्ति नै निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाविना भएको कारण उनीहरूले आयोगको विश्वसनीयता गुमाएका छन् ।’ अलायन्सकाअनुसार आयोगका प्रमुख र अन्य आयुक्तहरूको नियुक्ति पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ विना गरेको र त्यसले आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाएको आरोप उनीमाथि छ ।
जेनजी मुभमेन्ट अलायन्सले विशेष अदालतको हालसालैको निर्णयलाई समेत उद्धृत गर्दै आयोगको अभियोजन प्रणाली र प्रमुख आयुक्तको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको दाबी गरेको छ ।
विज्ञप्तिमा अहिले संघीय संसद् नहुँदा महाअभियोग प्रक्रियामार्फत पदमुक्त गर्न सम्भव नभएकाले राजीनामाबाटै पद रिक्त गर्नुपर्ने उल्लेख गरिएको छ । साथै, गठित अन्तरिम सरकारलाई खुला आवेदन प्रक्रियामार्फत निष्पक्ष नियुक्ति समिति गठन गरी नयाँ आयुक्तहरू नियुक्त गर्न पनि आग्रह गरिएको छ ।
‘नयाँ नियुक्तिहरू पहुँचवालाको बन्द सूचीबाट होइन, सबै योग्य र सक्षम नागरिकको खुला प्रतिस्पर्धाबाट हुनुपर्छ,’ विज्ञपतिमा भनिएको छ ।
जेनजी मुभमेन्ट अलायन्सले अनौपचारिक तथा विद्युतीय माध्यमबाट गरेको राजीनामा माग पूरा नभए भोलि असोज २१ गते बिहान १० बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा औपचारिक निवेदन दर्ता गर्ने र आवश्यकता परे अन्य कार्यक्रमहरू सञ्चालन गर्ने चेतावनी पनि दिएको छ ।
यसरी सार्वजनिक रुपमा अख्तियार प्रमुख राईलाई अनुरोध गरेको यो समूहले उनलाई व्यक्तिगत रुपमा इमेल गरेको जनाएको छ ।
‘यसबाहेक प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई पनि ईमेल गरेका छौँ । यदि उहाँ आफैँले मार्गप्रशस्त नगरे अख्तियार कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन थाल्ने तयारी पनि हाम्रो छ,’ यसमा अगुवामध्येका एक अमित खनालले बताएका छन्।
जेनजी मुभमेन्ट अलायन्समा ३९ वटा जिल्ला प्रतिनिधित्व गर्ने १२ वटा जेनजी समूह रहेका छन् ।
राईलाई गरिएको मेल :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० असोज २०८२, १७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अख्तियारमा नापी र मालपोतका उजुरी धेरै
अख्तियारले राष्ट्रपतिसमक्ष पेश गर्यो ३५औं वार्षिक प्रतिवेदन
अख्तियारले भन्यो- चोरी भएका सामान फिर्ता नभए सीसीटीभी फुटेजका आधारमा कारबाही
अख्तियारबाट २९ हजार सात सय उजुरी फर्छ्यौट
पूर्वमन्त्री राजकुमार गुप्तालाई अख्तियारमा बोलाइयो
भिजिट भिसा दुरुपयोग काण्डमा अख्तियारको ‘क्लोज इन’ : तीर्थराज भट्टराईसँग लगातार बयान, डिजिटल प्रमाण संकलन