अख्तियारमा नापी र मालपोतका उजुरी धेरै

रासस

सोमबार, ०६ असोज २०८२, १२ : ४८
अख्तियारमा नापी र मालपोतका उजुरी धेरै

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रदेशगत रूपमा बागमती प्रदेशको सबैभन्दा बढी उजुरी पर्ने गरेको छ ।

आयोगले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार प्रदेशगत रूपमा सबैभन्दा बढी अर्थात् ११ हजार २७७ वटा उजुरी दर्ता भएको उल्लेख छ । संघमा सात हजार ६२३, प्रदेशमा ७०८, स्थानीय तहमा दुई हजार ९४६ उजुरी दर्ता भएका छन् ।

स्थानीय तहमा मधेश प्रदेशको सबैभन्दा बढी उजुरी परेको छ । सो प्रदेशका स्थानीय तहहरूको मात्रै सात हजार ७२ उजुरी दर्ता भएका छन् । कूल उजुरीका आधारमा कोशी प्रदेशमा तीन हजार २९४, मधेशमा नौ हजार ६६८ उजुरी दर्ता भएका छन् ।

गण्डकी प्रदेशको दुई हजार ४१३, लुम्बिनी प्रदेशमा चार हजार ४२८, कर्णाली प्रदेशको तीन हजार ३३० र सुदूरपश्चिम प्रदेशको दुई हजार ६१६ उजुरी दर्ता भएका छन् ।

देशभरका ७५३ वटा स्थानीय तहको कूल उजुरी १९ हजार ९३३ रहेका छन् । सो आवमा कूल उजुरी ३७ हजार २६ वटा परेका थिए । प्रदेशगत रूपमा १२ हजार ४७५ उजुरी दर्ता भएका छन् । प्रतिशतका आधारमा स्थानीय तहको सबैभन्दा बढी उजुरी परेको थियो । समग्रमा उजुरीका आधारमा ५३ दशमलव ८४ प्रतिशत उजुरी स्थानीय तहको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस