दिल्लीमा वायू प्रदुषण उच्च स्तरमा, प्रदुषण कम गर्न ‘रेड लाईट अन, गाडी अफ’ अभियान

सफल खबर संवाददाता

आइतबार, ३० कार्तिक २०७७, ०८ : ०५
दिल्लीमा वायू प्रदुषण उच्च स्तरमा, प्रदुषण कम गर्न ‘रेड लाईट अन, गाडी अफ’ अभियान

एजेन्सी । भारतको राजधानी दिल्ली लगायत वरपरको क्षेत्रमा पछिल्लो केही दिनयता वायु प्रदुषण उच्च स्तरमा पुगेकोछ । दिल्ली वरपरि हरियाणा र पंजाबमा पराल जलाएका कारण पनि दिल्लीमा अत्यधिक प्रदुषण बढेको हो । प्रदुषणलाई मध्यनजर गर्दै दिल्ली लगायत भारतका धेरै राज्यले दिपावलीमा पटाखा विक्रि वितरणमा समेत रोक लगाएका छन् ।

दिपावलीमा पटाखा विक्रि वितरणमा रोक लगाएको दिल्ली सरकारले प्रदुषण नियन्त्रणको उपाय स्वरुप दिल्लीमा ‘रेड लाईट अन, गाडी अफ’ अभियान चलाएको छ । अभियान अन्तर्गत दिल्ली सरकारले ट्राफिक सिगनलहरुमा रातो बत्ती भएका बेला गाडी बन्द गराउनका लागि नगर प्रहरी खटाएको छ । दिल्लीमा प्रदुषणका कारण पुरै दिन तुवालो लागेकाले घाम लागेन ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार ४ नोभेम्बरदेखि ९ नोभेम्बरसम्म दिल्लीमा निरन्तर ६ दिनसम्म प्रदूषण स्तर ’गंभीर’ श्रेणीमा रहेको थियो । राजधानी दिल्लीसहित एनसीआर फरीदाबाद, नोएडा, ग्रेटरनोएडा र गुडगाँवमा पनि वायु गुणस्तर अति खराब श्रेणीमा पाइएको थियो ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार शनिबार साँझ ४ बजे वायु गुणस्तर सूचकांक ४५१ एक्यूआई रहेको थियो । भने विहानको समयमा वायु गुणस्तर ३ सयको हाराहारीमा रहेको थियो । एक्यूआई शून्यदेखि ५० सम्मलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मलाई सन्तोषजनक , १०१ देखि २०० सम्मलाई मध्यम, २०१ देखि ३०० खराब र ३०१ देखि माथिको एक्यूआइलाई अति खराब मानिन्छ ।

प्रतिक्रिया दिनुहोस